काठमाडौँ । काठमाडौको बौद्धस्थित नयाँबस्तीमा फ्याकिएको बोराभित्र मानव शरीरका केही अंग भेटिएका छन् । बोरामा पोको पारिएको अवस्थामा फेला परेको शव अन्तै हत्या गरेर त्यहाँ फालिएको हुन सक्ने प्रहरीले जनाएको छ।
शव फेला परेको स्थानमा शरीरका केही भागहरु मात्रै पाइएका छन्। प्रहरीका अनुसार खुट्टा र घुँडाको केही भाग मात्रै जलेकाे अवस्थामा फेला परेका छन्।
शरीरकाे सिंगाे अंश नभेटिएकाेले अन्तै हत्या गरेर केही टुक्राहरु मात्रै यहाँ फालिएकाे हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ। ‘अन्तै घटना घटाएर यहाँ व्यवस्थापन गरेको जस्ताे छ, बडीको सिंगो पार्टको अवशेष यहाँ देखिँदैन’, प्रहरी अधिकारीले भने।
उनका अनुसार करिब ३ हप्ता भन्दा पहिले नै हत्या भएकाे हुन सक्छ। पूरा अंश फेला नपरेकाे र भेटिएका शरीरका टुक्रा पनि जलेकाे अवस्थामा रहेकाेले शव महिलाकाे हाे कि पुरुषकाे हाे भन्ने पनि खुल्न सकेकाे छैन।
शव पोस्टमार्टम र डीएनए प्रोफाइलका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
मंगलबार बिहान घटनाको जानकारी पाएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सिंह र महाशाखाका कुवेर कडायतसहितका प्रहरी अधिकारी घटनास्थल पुगेका थिए । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।


विश्व खबर 



















