images
images
  • चाबहिल नापीका अधिकृत पुरीविरुद्ध १ करोड ४ लाखको भ्रष्टाचार मुद्दा

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले १ करोड ४ लाख ३ हजार ९०० रुपैयाँ बिगो दाबी गर्दै आइतबार विशेष अदालत काठमाडौंमा पुरीविरुद्ध मुद्दा दायर गरेको हो ।

    अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार पुरीले २०५२ पुस ९ गतेदेखि २०७९ असार मसान्तसम्मको अवधिमा अबैध तरिकाले एक करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ आर्जन गरेका थिए ।
    सोही अवधिमा पुरीले २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

    पुरीको आयभन्दा खर्च १ करोड ५ लाख ३हजार ९०० रुपैयाँ बढी देखिएकोले उक्त रकमलाई गैरकानुनी ठहर गर्दै मुद्दा दायर गरिएको अख्तियारले बताएको छ ।

    अख्तियारका अनुसार राजु पुरीले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनको श्रीमती श्रृजना गिरीको नाममा समेत रहेको पाइएको छ । यसैकारण श्रृजनालाई पनि प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ ।

    अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार व्ययको तुलनामा पुरीले प्राप्त गरेको आय रकम रु. एक करोड चार लाख तीन हजार नौ सय एकचालिस रुपैयाँ त्रियासी पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको हो ।

    सार्वजनिक सेवाको पदमा बहाल रहँदा पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको प्रवक्ता दाहालले बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images