images
images
  • पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक विद्रोहको घोषणा, राष्ट्रपति हिरासतमा

    काठमाडौं- पश्चिम अफ्रिकी देश नाइजरमा सैनिकले राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा गरेको छ । त्यहाँको सैनिकले संविधान विघटन, सबै संस्था निलम्बन र राष्ट्रको सिमाना बन्द गरेको बताएको छ ।

    नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई अमेरिकाको समर्थन रहेको बताएका छन् ।

    यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रपति बजुमसँग टेलिफोन वार्ता गरी पूर्ण सहयोग गर्ने बताएका छन् ।राष्ट्रपति बाजुम पश्चिम अफ्रिकामा इस्लामिक अतिवाद विरुद्धको लडाईमा पश्चिमा देशहरूका प्रमुख सहयोगी हुन् ।

    टेलिभिजनमा विद्रोहको घोषणा गर्दा कर्नेल अमादु अब्द्रामाने अन्य नौ जना सिपाहीहरूसँगै थिए । सो क्रममा उनले भने, ‘हामीले अहिलेको शासन प्रणाली अन्त्य गर्ने निर्णय गरेका छौँ । यो सँधै बिग्रँदै गएको सुरक्षा अवस्था र बिग्रँदै गएको आर्थिक र सामाजिक सुशासनको परिणाम हो ।’

    स्थिति स्थिर नभएसम्म सीमा र हवाई नाका बन्द रहने उनले बताए । साथै अर्को सूचना नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू जारी रहने घोषणा पनि उनले गरेका छन् ।
    नाइजरका दुई छिमेकी देश, माली र बुर्किना फासोले पनि हालैका वर्षहरूमा जिहादी विद्रोहका कारण कूको अनुभव गरेका छन् ।।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images