images
images
  • नेपालगञ्ज रङ्गशालामा उच्च क्षमताको फ्लडलाइट जडान हुँदै

    काठमाडौं – नेपालगञ्ज रङ्गशालामा उच्च क्षमताको प्रकाश प्रणाली (फ्लडलाइट) जडानको काम अघि बढाइएको छ । मुख्य सहरमा व्यावसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने सरकारको योजनाअन्तर्गत रङ्गशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्न लागिएको हो ।

    फ्लडलाइट जडान भएपछि रातिको समयमा नियमित खेल, अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज हुने र यसबाट खेल पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम ओलीले फ्लडलाइट जडानले नेपालगञ्जको खेलकुद गतिविधिमा नयाँ गति आउने बताउनुभयो। गर्मीका कारण दिउँसो खेलकुद गतिविधि सञ्चालन गर्न कठिन हुने भएकाले रातिको समयमा समेत खेलकुद गतिविधि सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

    फ्लडलाइट जडानसँगै रङ्गशालाको फुटबल मैदानको सतह, पानी निकासलगायतका आधारभूत पूर्वाधारमा समेत सुधार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

    जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्वअध्यक्ष मोहित शाहले मैदानको सतह र पानी निकासको व्यवस्था सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
    रङ्गशालामा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालन बढेमा आम्दानीका स्रोतसमेत विस्तार हुने र त्यसबाट मर्मतसम्भारलाई निरन्तरता दिन सकिने सरोकारवालाको भनाइ छ ।

    नेपाल सरकारको खेलकुद पूर्वाधार विकास योजनाअन्तर्गत पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच यसै साता खेलकुद संरचना निर्माण तथा स्तरोन्नतिका लागि सम्झौता भएको थियो ।

    सम्झौताअनुसार आगामी तीन वर्षभित्र रङ्गशालालगायत तोकिएका खेलकुद पूर्वाधारमा रु २५ करोडसम्म लगानी गर्ने लक्ष्य राखिएको छ । उक्त रकमबाट आधुनिक फ्लडलाइट जडानसँगै आवश्यक मर्मतसम्भार तथा पूर्वाधार स्तरोन्नतिको काम गरिनेछ ।

    नेपालगञ्ज रङ्गशालालाई आधुनिक र सुविधासम्पन्न बनाउन लामो समयदेखि माग हुँदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images