काठमाडौं – ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित हवाई उडान सुरु भएको छ । मौसम खराबीलगायतका कारण गत जेठ २२ गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले सोमबारदेखि नियमित उडान थालेको हो ।
सुकेटार विमानस्थलका वायु यातायात नियन्त्रक दिलीप राजवंशीका अनुसार काठमाडौँबाट १३ यात्रु लिएर आएको जहाज पाँच यात्रु लिएर काठमाडौँ फर्किएको छ ।
यसअघि साताको सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएकोमा नयाँ तालिकाअनुसार असोज १५ गतेदेखि सोमबार, बिहीबार र शनिबार उडान हुने जनाइएको छ ।
काठमाडौं–ताप्लेजुङ हवाई भाडा १२ हजार २७० रुपैयाँ तथा ताप्लेजुङ–काठमाडौँतर्फको भाडा १२ हजार ७० रुपैयाँ कायम गरिएको छ ।
उडान नियमिततामा समस्या
पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने ताप्लेजुङमा नियमित हवाई सेवा सञ्चालनमा विभिन्न समस्या देखिँदै आएका छन् । जहाजको अभाव, प्राविधिक समस्या तथा कतिपय अवस्थामा यात्रु अभावका कारण उडान नियमित हुन नसकेको बताइएको छ ।
नियमित उडान नहुँदा हवाई सेवामा निर्भर यात्रुका साथै जिल्लामा आउने पर्यटकसमेत प्रभावित हुँदै आएका छन् ।
पाथीभरा र कञ्चनजङ्घालगायत पर्यटकीय क्षेत्रमा जाने यात्रुले नियमित हवाई सेवा नहुँदा सहज यात्रा गर्न कठिनाइ भोग्दै आएका छन् ।
स्थानीयले ताप्लेजुङमा नियमित हवाई सेवा सञ्चालनका लागि निजी क्षेत्रका हवाई सेवा कम्पनीलाई समेत उडानका लागि सहज वातावरण बनाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने बताएका छन् ।


विश्व खबर 

















