images
images
  • हिमलुङ हिमपहिरोमा परेर गोरखाका दुई जना बेपत्ता

    काठमाडौं– मनाङको नार्पाभूमिस्थित हिमलुङ हिमपहिरोमा परेर गोरखाका दुई जना बेपत्ता भएका छन् । हिमलुङ आधार शिविरमा क्याम्प निर्माण गर्ने क्रममा हिमपहिरो आएपछि धार्चे गाउँपालिका–२ केरौँजाका वीरेन्द्र गुरुङ र आशबहादुर गुरुङ शनिबारदेखि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजुकुमार श्रेष्ठका अनुसार हिमलुङ आधार शिविरमा हिमपहिरो जाँदा दुवै जना बेपत्ता भएका हुन् ।

    धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार पर्वतारोहीका सहयोगीका रूपमा आधार शिविर पुगेका वीरेन्द्र र आशबहादुर सम्पर्कविहीन भएपछि परिवार तथा आफन्तले खोजी कार्य तीव्र बनाउन आग्रह गरेका छन् ।

    करिब ३२ वर्षीय वीरेन्द्र हिमालयन होलिडेज कम्पनीका आधार शिविर सहयोगीका रूपमा र ४५ वर्षीय आशबहादुर इम्याजिन नेपाल एक्सपिडिसन प्रालिबाट पथप्रदर्शक तथा भान्सेको कामका लागि हिमलुङ पुगेका थिए ।

    हिमपहिरोमा १६ जना बेपत्ता

    प्रहरीका अनुसार हिमलुङ आधार शिविरमा आएको हिमपहिरोमा वीरेन्द्र र आशबहादुरसहित १६ जना बेपत्ता भएका थिए। तीमध्ये दुई जनाको शव फेला परी सनाखत भइसकेको छ भने अन्यको खोजी भइरहेको छ ।

    समुद्री सतहबाट चार हजार ८७५ मिटर उचाइमा रहेको हिमलुङ आधार शिविरमा बेपत्ताको खोजीका लागि नेपाल राष्ट्रिय पथप्रदर्शक संघ र पर्वतारोहण सञ्चालक संघबाट १४ जनाको उद्धार टोली परिचालन गरिएको छ ।

    पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुल्सिङ गुरुङका अनुसार हिमपहिरोबाट जोगिएका १४ जनाको टोली फूबाट आधार शिविरतर्फ गएको छ ।

    उहाँका अनुसार अहिले मौसम खुलेका कारण खोजी कार्यमा केही सहज भएको छ। तर बाक्लो हिउँका कारण बेपत्ताको खोजीमा समय लाग्न सक्ने उहाँले बताउनुभयो ।

    हिमपहिरोमा परेर बेपत्ता भएका दुवै जनाको परिवारले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images