काठमाडौं- नेपाली चर्चित रकगायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ। उनी मंगलवार बुढानीलकण्ठ-५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले बताइन्।
तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन । हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा तामाङको शव भेटिएको हो । प्रहरीका अनुसार कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको थियो । शवको प्रकृति र अवस्था हेर्दा आत्महत्याजस्तो नदेखिएको बुढानीलकण्ठ प्रहरीका इन्स्पेक्टर दीपेन्द्र चन्दले बताए ।
तामाङकी पत्नी काम विशेषले घरबाहिर थिइन् । उनले २ घण्टासम्म लगातार श्रीमानलाई फोन गर्दा पनि नउठेपछि रोविनकी दिदीलाई फोन गरेर घरमा हेर्न पठाएकी थिइन् ।
दिदी घर पुग्दा भित्रबाट गेट लगाइएको थियो। धेरै बेर बोलाउँदा पनि ढोका नखोलेपछि दिदीले प्रहरीलाई खबर गरेकी थिइन् ।
‘प्रहरी घरमा पुगेर ढोका खोलेर हेर्दा खाटको बायाँतर्फ उहाँ घोप्टो परेर लडिरहनु भएको थियो’, चन्दले बताए ।
प्रहरीले घटनास्थलमा निरीक्षण गर्दा वरिपरि कुनै सुसाइड नोट भेटिएन। झट्ट हेर्दा हृदयघात वा मस्तिष्क घात भएकोजस्तो देखिएको प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्न सक्ने प्रहरीले जनाएको छ ।
तामाङको मृत्युबारे उनकै आधिकारिक फेसबुक पेजबाट जानकारी सार्वजनिक भएको थियो । स्रोतका अनुसार उनकी पत्नीले नै सो पोस्ट गरेकी हुन् । साथै उनको आफनै फेसबुक अकाउन्टबााट पनि मृत्युको खबर सार्वाजनिक भएको थियो।
रविनको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। बुधवार बिहान दश बजे उनको शव पोष्टमार्टम हुनेछ।
नेपाली रक ब्याण्ड ‘रविन एन्ड दि रेभोलुसन’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए। ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो । हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका उनको नेपाली रक गीतको विकासमा योगदान महत्त्वपूर्ण मानिन्छ।
लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो। सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘केटा केटी’, ‘मेरो माया’, ‘दम मारो दम’, ‘कल्पना’ लगायत कयौँ गीत युवापुस्ता माझ चर्चित छन्।






















