images
images
  • धरानमा ‘आदिपुरुष’को प्रदर्शन नगर्न निर्देशन गर्दै मेयर साम्पाङले भने- आफ्नो देशप्रति सचेत रहौँ

    धरा-धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन नगर्न निर्देशन दिएका छन् ।

    सोमबार सामाजिक सञ्जालमार्फत उनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ आफ्नो नगरका सिनेमा घरहरूमा पनि प्रदर्शन गर्न रोक लगाइएको जानकारी दिँदै आफ्नो देशप्रति सदैव सचेत रहन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गरेका हुन् ।

    सोमबार दिउँसो १२ बजे कार्यालय समयभित्रै फेसबुकमा भिडिओ सम्बोधन गर्दै मेयर साम्पाङले ‘सीता भारतमा जन्मेकी हुन्’ भन्ने गलत संवाद रहेको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई आफ्नो क्षेत्रका हलमा पनि प्रदर्शन गर्न निषेध गरिएको जानकारी दिएका छन्।

    त्यस क्रममा उनले आफ्नो देशको राष्ट्रियता, अखण्डता, सार्वभौमसत्ता रक्षाका लागि एकजुट हुन देशवासी सबैलाई अनुरोध पनि गरेका हुन्।

    यसअघि काठमाडौं र पोखरा महानगरपालिकाले पनि आजदेखि ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाइएको बताइसकेका छन्।

    यस्तो छ– हर्कले भिडिओमा बोलेका कुरा
    ….हाम्रो देशको राष्ट्रियता, हाम्रो देशको अखण्डता, हाम्रो देशको स्वाभिमान, हाम्रो देशको सार्वभौमसत्तामा आँच आउने कुनै पनि सोचविचार, अभिव्यक्ति र व्यवहार हामीलाई सह्य छैन। त्यसो भएको कारणले गर्दाखेरि यो हिन्दी फिल्म आदिपुरुष भन्ने, हुन त म त्यति फिलिमसिलिम हेर्दिनँ, तैपनि यसमा चैने सीताचैँ भारतमा जन्मेको भन्ने अभिव्यक्ति, त्यो डाइलग छ अरे भन्ने मैले सुनेको छु। त्यो आपत्तिजनक विषय हो। त्यसो भएको कारणले गर्दाखेरि सम्बन्धित चलचित्रचैँ धरानको सिनेमा घरहरूमा पनि प्रदर्शनमा रोक लगाएका छौँ। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो राष्ट्र र आफ्नो देशप्रति सदैव सचेत रहनका लागि, सजग रहनका लागि र एकताबद्ध रहिरहनका लागि हार्दिक अनुरोध पनि गर्न चाहन्छु।….

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images