images
images
  • बर्षौदेखीको तिर्खा मेटाउन हर्क साम्पाङले चलाएको श्रम अभियान

    सुनसरी- डढेलोजस्तो धरान सहरमा खानेपानीको हाहाकार छ । अहिले अधिकांश वडाध्यक्ष एकातिर छन् भने साम्पाङ अर्कातिर । खानेपानीका लागि भन्दै साम्पाङ खोलाखोल्सीदेखि कोशी किनारसम्म धाइरहेका छन् । सामाजिक सञ्जालमा उनी जति ठट्यौला देखिन्छन्, पदभार ग्रहण गरेदेखि नै पानी कसरी ल्याउने भन्नेमा गम्भीर छन् ।

    उनी स्वतन्त्र उठेर निर्वाचित हुन् । धरानमा २० वटा वडाहरू छन्, वडाध्यक्षहरू दलबाट उम्मेदवारी दिएर जितेका छन् । यतिबेला साम्पाङ र वडाध्यक्षहरूबीच सम्बन्ध चिसिएको छ । समग्र धरानको विकासका लागि नगरप्रमुखले समन्वय नगरेको आरोप लगाइरहँदा साम्पाङ भने खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर श्रमदानमार्फत पाइपलाइन विस्तार गर्ने, नयाँ मुहान खोजी गर्ने र अभाव पूर्ति गर्ने ध्याउन्नमा छन् । उपमहानगरको मुख्य खाँचो टार्न लागिपरेका उनी नरम बोल्न र सबै वडाका जनप्रतिनिधिलाई साथै लिएर अघि बढ्न भने नसकेको देखिएको छ ।

    जनप्रतिनिधि वडाध्यक्षहरूको तर्क सुन्दा उनीहरू नै ठीक भन्नेहरू साम्पाङको भावुक तर्क सुनेर उनी झन् बढी ठीक देखिने बताउँछन् । तर सानासाना विषयमा उठेको विवाद समाधान हुन नसक्दा भने स्वतन्त्र प्रमुख र दलीय वडाध्यक्षबीचको विवादलाई प्रतिष्ठासँग जोडेको सहजै अनुमान गर्न सकिन्छ । यही कारण नगरको मुख्य खाँचो खानेपानी व्यवस्था गर्न जनप्रतिनिधिहरू एक हुन सकेका छैनन् । धरानमा यतिबेला खानेपानीको चरम संकट छ । नगरवासी ट्यांकरमा पानी किनेर उपभोग गरिरहेका छन् ।

    सन् २०१२ देखि सुरु भएको एकीकृत सहरी विकास आयोजनाअन्तर्गत करिब २ अर्ब रुपैयाँ बजेटको धरान खानेपानी योजनाले दैनिक १ करोड ५२ लाख लिटर भूमिगत पानी चारकोसे जंगलबाट आपूर्ति हुने भनिएको थियो । तर अझै पर्याप्त आपूर्ति हुन नसक्दा संकट नटरेको हो ।

    ११ महिनादेखि एउटै मुख्य एजेन्डा
    धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका प्रमुख साम्पाङले नगरवासीलाई खानेपानी पु¥याउन अनेक ‘आइडिया’ लगाउँदै आएका छन् । प्रमुखको कुर्सीमा बस्नासाथ उनले मौसमी मुहान पहिचान गरेर पकुवा, निसाने र भालु खोलाका पानी संकलन गरेर मूल ट्यांकीमा झार्ने अभियान सुरु गरे । उनले कार्यभार सम्हाल्दा वर्षाको मौसम सुरु भइरहेको थियो । जलाधार क्षेत्रकै सर्दुखर्दुको खेर गएको पानीलाई पनि संकलन गरेर ट्यांकीमा झारे । त्यतिबेला नगरमा आपूर्ति केही सहज भएको थियो । जब हिउँद सुरु भयो मौसमी मुहान सुके । उनले धरान–२० को कोकाहा खोलाबाट पनि पानी ल्याउन श्रमदान जुटाए । १० इन्चको पाइप बराबरको पानी आउने भए पनि पहाडका भीर र अक्करे पहरा हुँदै ५ इन्च पाइप विस्तार गरिरहेका छन् । कोकाहाबाट धरानसम्म घुमाउँदै ल्याउँदाको दूरी करिब ३० किलोमिटर पर्छ । उक्त पानी धरानमा झार्न सके अल्पकालीन नै भए पनि आधा समस्या समाधान हुन्छ भन्ने बुझाइ छ । पछिल्लो समयमा श्रमदानमार्फत विस्तार गरेको पाइपलाइन बराहक्षेत्र नगरपालिका–१ को चावाचा बस्ती हुँदै ल्याउनुपर्छ । उक्त बस्तीमै पनि पानीको वितरण प्रणाली व्यवस्थित नभएकाले स्थानीयले अवरोध गरे । विस्तारको काम प्रभावित भयो ।

    नगरप्रमुख साम्पाङले भन्छन्, ‘मान्छे चन्द्रमामा पुगिसक्यो हामी आफ्नै नदी खोलाको पानी ल्याउँदा विवाद र अवरोधमा रुमल्लिइरहेका छौं । खानेपानी जस्तो संवेदनशील विषयमा उहाँहरूले अवरोध गर्नु नहुने हो । के हामीले पानी पनि खानु नपाउनु ? हामी कस्तो समाजमा बाँच्दै छौं ?’ अवरोध हटाउन बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीसँग वार्ता भएको उनले बताए । स्थानीयले आफूहरूलाई पनि पानी दिनुपर्ने माग गरेका थिए । साम्पाङका अनुसार अब करिब दुई÷अढाई किलोमिटर पाइपलाइन विस्तार गर्न बाँकी छ । ‘सम्भवतः केही दिनभित्रमा कोकाहाको पानी धरानमा झर्ने छ,’ साम्पाङले भने । मुख्य स्रोत मानिएको सर्दुखर्दु क्षेत्रमा पनि जलस्तर घटेको छ । आयोजनाअन्तर्गतको भूमिगत स्रोतबाट जुटाइने पानीको पनि परिमाण घटेको छ । विद्युत् आपूर्ति अनियमित हुनुका साथै जेनेरेटर बिग्रँदा आयोजनाबाट पर्याप्त नभएको अवस्थामा कोकाहाको पानी धरानका लागि राहत हुने प्रमुख साम्पाङको बुझाइ छ । अहिले धरानका वडाहरूमा कतै तीन दिनमा एक पटक र कतै दुई सातासम्म धारामा पानी नआउने अवस्था छ ।

    अभाव हटाउन साम्पाङले सुरु गरेको श्रम अभियानलाई साथ दिन यतिबेला दैनिक कम्तीमा सयदेखि दुई सय जना सहभागी हुन्छन् । शनिबारलाई उनले ‘श्रमबार’ नाम दिएका छन् । उक्त दिन भने कम्तीमा ४ हजार जना श्रमदानमा सरिक हुन्छन् । तीमध्ये ५० प्रतिशत धरान बाहिरबाट आउँछन् । प्रमुख साम्पाङका खानेपानी परियोजना म्यानेजर पूर्वगोर्खा सैनिक दत्त खापुङका अनुसार खानेपानी ल्याउने कामका लागि हालसम्म करिब साढे ९ करोड रुपैयाँ नगद र जिन्सी सहयोग प्राप्त भएको छ ।

    ‘खानेपानीकै लागि भनेर स्वदेश र विदेशबाट आर्थिक सहयोग आइरहेको छ,’ उनले भने, ‘कतिपयले जिन्सीका रूपमा लाखौंको पाइप किनेर दिएका छन् । त्यही रकमले कतै गोर्खा वेलफेयरका प्राविधिकको निगरानीमा पाइपलाइन विस्तार र पानीट्यांकी निर्माण भइरहेको छ ।’ कोकाहा खानेपानी योजना सम्पन्न गर्न गत चैत २५ मा सिल्भर इन्टरटेनमेन्टको सहयोगमा धरानमा ‘च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ भएको थियो । ३६ लाख १८ हजार रुपैयाँ उठेकोमा खर्च कटाएर २८ लाख ३६ हजार रुपैयाँ मंगलबार नगरप्रमुख साम्पाङलाई हस्तान्तरण गरिएको कन्सर्टका संयोजक मीना सिंगकले बताइन् ।

    सुक्खायाममा जहिल्यै हाहाकार
    दुई दशकयता जनसंख्या र बस्ती विस्तारसँगै धरानमा खानेपानीको संकट भइआएको हो । वर्षायाममा पुराना स्रोतबाट पानीको आपूर्ति सहज भए पनि हिउँदमा जहिल्यै हाहाकार हुने गरेको छ । जनगणना–२०७८ अनुसार धरानको जनसंख्या १ लाख ६६ हजार ५ सय ३१ छ । आयोजनाले विष्णुपादुका र पाँचकन्या समावेश नभएको साविक धरान नगरपालिकाको तत्कालीन जनसंख्याका लागि सन् २०३० सम्म पर्याप्त हुने डिजाइन गरेर पाइपलाइन विस्तार गरेको थियो । तर नेपाल खानेपानी संस्थानको धरान शाखाको प्राविधिक डिजाइन भने त्यसमा समावेश थिएन ।

    हाल धरानमा पानीको माग दैनिक करिब ३ करोड लिटर रहेको बताइएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डका अनुसार माग अत्यधिक छ । पानी आपूर्ति गर्न सकिरहेका छैनौं । भूमिगत पानी दैनिक १ करोड ६० लाख लिटर र सतहको हिउँदमा ४० लाख लिटरमात्र छ । दैनिक करिब १ करोड लिटर अपुग भएकाले हाहाकार देखिएको छ ।

    प्रत्येक हिउँदमा यहाँ पानीको हाहाकार हुनु नौलो नभएको स्थानीयको भनाइ छ ।  नगर प्रमुख साम्पाङले पानी जुटाउन नयाँ स्रोत खोजे । तर ती स्रोतहरू मौसमी भएकाले हिउँदमा सुक्दा वितरण भरपर्दो नभएको हो । खानेपानी संस्थानको जिम्मेवारी बोर्डले लिएको छ तर पुराना पाइपलाइनका बारेमा जानकार इमानदार कर्मचारी नपाएको बताइएको छ ।

    खानेपानी र अन्य कामको विषयमा प्रमुख साम्पाङ नतिजामुखी देखिएको तर काम गर्ने शैली परिवर्तन नगरी एक्लै अगाडि बढेको अवस्थामा वडाध्यक्षहरूले भने साथ र सहयोग नगरेको बताइएको छ  ।
    धरानका जनतालाई खानेपानी जताबाट भए पनि ल्याउँछु भनेर स्वदेश र विदेशबाट स्रोत जुटाउँदै छन् । तर बढ्दो जनसंख्यालाई खानेपानी पु¥याउन उनको एक्लो जोडबलले भ्याउँदैन । विकल्पमा तमोरबाट कि कोशीबाट पानी ल्याउनैपर्छ । जनप्रतिनिधिहरूबीच एकता जरुरी छ । एक स्थानीय बुद्धिजीवीले भने

    कोशीको पानी ल्याउन डीपीआर
    धरानमा कोशीको पानी ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न स्थलगत अध्ययन भइरहेको प्रमुख साम्पाङले बताएका छन् । अध्ययनका क्रममा ट्यांकी बनाउने ठाउँ हेर्न इन्जिनियर राजेश महर्जनसहित आफू अर्चले पनि पुगेको उनले बताए । उक्त स्थानमा करिब १० लाख लिटर क्षमताको ट्यांकी बनाइने र कोशीको पानी लिफ्ट गरेर जम्मा गर्ने योजना छ ।

    धरानका विष्णुपादुका, दानाबारी र देउरालीका बासिन्दालाई पनि कोशीको पानी वितरण हुने गरी परियोजना डिजाइन हुने उनले बताए । यसबीच गोर्खा वेलफेयर ट्रस्टले धरानको खानेपानी स्तरोन्नति आयोजनामा पनि सहयोग गरेको छ । पाइपलाइन र ट्यांकी निर्माणका लागि वेलफेयरले ३ करोड ३९ लाख रुपैयाँको योजना स्वीकृत गरेको छ । साम्पाङ र रेजिमेन्ट एसोसिएसन अध्यक्ष पूर्वगोर्खा मेजर झप्तमान लिम्बूले धरान–भेडेटार सडकखण्डको आँपगाछी क्षेत्रमा पर्ने खर्दु खोलामा आयोजनाको शिलान्यास गरिसकेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images