images
images
  • हुम्ला अदानचुलीका १६५ महिलाले पाएनन् सुत्केरी भत्ता

    काठमाडौं- हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन्। आर्थिक वर्ष २०७८र७९ मा प्रोत्साहनवापत पाउने भत्ता नपाएको उनीहरुको भनाइ छ।

    गाउँपालिकाले स्वास्थ्यचौकीलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि ठूलो संख्यामा सुत्केरी महिलाले उक्त सुविधाबाट वञ्चित भएका हुन्।

    अदानचुली गाउँपालिका-१ की तारा महताराले आफू सुत्केरी भएको दुुई वर्ष पुग्नै लाग्दासमेत सुत्केरीले राज्यबाट पाउने भत्ता नपाएको गुनासो गरिन्। पटक-पटक स्वास्थ्य चौकीमा उक्त भत्ता माग्ना जाँदा निकासा नआएको जवाफ पाउने गरेको बताउँदै सुत्केरी महिलाहरूले अब त माग्नसमेत छोडेको जनाएका छन्।

    सुत्केरीले चार पटक गर्भ जाँच गरेको चार सयका दरले एक हजार छ सय र प्रसूतिगृहमा सुत्केरी भएबापत रु ३ हजार प्रोत्साहन भत्ता गरी रु ४ हजार ६ सय हालसम्म पाउन सकेका छैनन्। भत्ता श्रीनगर स्वास्थ्य चौकीबाट प्रसूति गृहबाट घर फर्कने बेला पाउनुपर्ने भए पनि हालसम्म पाउन नसकेको उनीहरुको भनाइ छ।

    श्रीनगर स्वास्थ्य चौकीका अनमी सुस्मिता फडेराका अनुसार सबै सुत्केरीले पाउनुपर्ने भत्ता रु सात लाख ५९ हजार छ। आफूहरूले भत्ता निकासाका लागि पटक–पटक गाउँपालिकालाई जानकारी गराए पनि निकासै नआएको उनको भनाइ छ।

    गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले आफू साउनमा मात्रै आएका कारण त्यस सम्बन्धमा कुनै जानकारी नभएको बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images