images
images
  • सस्तोमा जग्गा मिलाइदिने भन्दै ३२ लाख लुट्ने ४ जना पक्राउ

    भद्रपुर- सस्तोमा जग्गा मिलाइदिने भनी ३२ लाख रकम लुटेर फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–६ का ५५ वर्षिय रणबहादुर पोखरेल, कमल- ५ का ५२ वर्षिय बिजय राई भक्तपुर बस्ने ३९ वर्षिय राजेश श्रेष्ठ, र काठमाडौँको गर्जुधारा बस्ने ५२ वर्षिय जनक रेग्मी  रहेका छन्

    चैत ३० गते बिहीबार दिउँसो १ बजे अर्जुनधारा ११ बिर्तामोड बसपार्क नजिकै दुई कठ्ठा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएका बिष्णुमाया सापकोटा (सुवेदी) र अनिल विश्वकर्माले साथमा लिएर आएको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबारी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    प्रहरीले दिएको जानकारी अनुसार जग्गा सस्तो दरमा बिक्रीमा रहेको छ खरिद गर्न आउनु भनी कमल ५ का ५२ वर्षिय बिजय राईले उनीहरुलाई बोलाएका थिए । राई र जग्गा किन्न खोज्ने विष्णुमाया सुवेदी एकै गाउँका चिनजानका व्यक्ति हुन् । विष्णुमायाले जग्गा बैना गर्नका लागि छिमेकी अनिल विश्वकर्मालाई साथमा लिएर उर्लाबारीबाट बिर्तामोड आएकी थिइन् ।

    राईले मोरङको बेलबारी नगरपालिका–६ घर भई झापाको मेचीनगर नगरपालिका–६ का ५५ वर्षिय रणबहादुर पोखरेलसँग मिलेर उनीहरूलाई लुट्ने योजना बनाएका थिए ।
    दुईजनाले मात्र लुटपाट गर्न नसकिने ठानेर राईले काठमाडौंमा रहेका राजेश श्रेष्ठ र जनक रेग्मीलाई दुई दिन अगाडि नै झापा बोलाएका थिए ।

    चारजना मिलेर पूर्वनिर्धारित योजनाअनुसार जग्गा खरिदकर्तालाई नवज्योति होटलमा बोलाएर बैना कागज नै नगरी विष्णुमायाको साथमा रहेको ३२ लाख रुपैयाँ लुटेर फरार भएका थिए ।

    फरार भएकाहरूको खोजतलास गर्ने क्रममा दुईजना व्यक्तिहरू इलामबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
    रामेछाप देउराली गाउँपालिका–२ घर भई हाल भक्तपुर बस्ने ३९ वर्षिय राजेश श्रेष्ठ र पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भई काठमाडौँको गर्जुधारा बस्ने ५२ वर्षिय जनक रेग्मी झापाबाट भागेर इलाम पुगेपछि पक्राउ परेको उनले बताए ।

    जिल्ला प्रहरी कार्यालय इलामको समन्वयमा इलाम नगरपालिका–७ पुरानो बसपार्कमा रहेको देउराली होटलमा लुकिछिपि बसेको अवस्थामा नगद १४ लाख ६५ हजारसहित श्रेष्ठ र रेग्मी शुक्रबार दिउँसो पक्राउ परेको रिजालले बताए ।

    त्यस्तै, अर्जुनधारा नगरपालिका–११ मा रहेको थापा होटल एण्ड लजको कोठा नं. १०१ मा लुकेर बसेका राई र पोखरेललाई पनि प्रहरीले शुक्रबार नै पक्राउ गरी उनीहरूको साथबाट प्रहरीले १३ लाख रुपैयाँ बरामद गरेको उनले जानकारी दिए ।

    लुटिएको ३२ लाख रकममध्ये उनीहरूको साथबाट २७ लाख ६५ हजार रकम बरामद भएको छ । बाँकी रहेको चार लाख ३५ हजार रकम उनीहरूले खर्च गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images