काठमाडौ– नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पठाइएको भनिएको उम्मेदवार सूचीका तीनै जना पराजित भएका छन् ।यसलाई धेरैले ओली आदेशको अवज्ञा भएको टिप्पणी गरेका छन् । कमिटीका लागि तीन पदमा मात्र निर्वाचन भएको थियो ।
२०८३ कात्तिक १८ र १९ गते सम्पन्न अधिवेशनमा पदाधिकारी चयनका लागि भएको मतदानमा ओलीको रोजाइ भनिएका उम्मेदवारलाई प्रतिनिधिहरूले मत दिएनन् ।
प्राप्त विवरणअनुसार उपाध्यक्षका उम्मेदवार कतारका चानक पोखरेलले ७३, सचिवका उम्मेदवार जर्मनीका सन्तोष भट्टराईले ८५ र उपसचिवका उम्मेदवार जापानका सुरेश केसीले ५८ मत प्राप्त गरेका छन् । उनीहरु सबै ओलीबाट प्रस्तावित उम्मेदवारहरु हुन् ।
तर मतदानबाट प्रतिनिधिहरूले फरक उम्मेदवार चयन गरेका छन् । दुबईका टकबहादुर गुरुङ ११३ मतसहित उपाध्यक्ष, बेलायतका रामशरण सिम्खडा ९८ मतसहित सचिव र अमेरिकाका कृष्णप्रसाद लामिछाने २११ मतसहित उपसचिवमा निर्वाचित भएका छन् ।
अधिवेशनमा ओलीले गुन्डुबाट जसरी पनि निर्वाचित गराउन निर्देशनसहित उक्त सूची पठाएको दाबी गरिएको छ ।
तर प्रतिनिधिहरूले मतदानमार्फत फरक उम्मेदवार चयन गरेपछि पार्टी नेतृत्वको चाहना र प्रवासी प्रतिनिधिहरूको मतबीच अन्तर देखिएको छ ।
अधिवेशनबाट अमेरिकाका प्रभु थापा अध्यक्षमा र इजरायलका ज्योति शर्मा उपसचिवमा सर्वसम्मत चयन भएका छन् ।
यस अधिवेशनको परिणामले प्रवासी नेपाली मञ्चको नेतृत्व चयनमा प्रतिनिधिहरूको मतदान र पार्टी नेतृत्वको भनिएको निर्देशनबीच देखिएको अन्तरलाई चर्चामा ल्याएको छ ।






















