काठमाडौं– इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसिन रेजाईले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेपछि सञ्चारमाध्यमसँग कुराकानी गरेका छन् ।
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको सन्देश लिएर रेजाई मस्को पुगेका थिए ।
बीबीसी फारसीका अनुसार रेजाईले पत्रकारहरूसँग कुरा गर्दै रुसी राष्ट्रपति पुटिनले तेहरानमा आयोजित चार देशको बैठकको स्वागत गरेको बताए । उक्त बैठकमा साउदी अरब, पाकिस्तान र टर्कीका वरिष्ठ सैन्य अधिकारीहरूले सहभागिता जनाएका थिए ।
रेजाईका अनुसार राष्ट्रपति पुटिनले यस क्षेत्रमा जारी युद्ध अन्त्य गर्न गरिने जुनसुकै प्रयासमा सहयोग गर्न रुस तयार रहेको बताएका थिए । पुटिनको विचारमा युद्ध पनि नभएको र शान्ति पनि कायम नभएको वर्तमान अवस्थाको अन्त्य हुनु इरानको हितमा हुनेछ ।
बिहीबार पुटिनसँगको भेटपछि रेजाईले अमेरिकासँग इरानले कुनै नयाँ वार्ता नगर्ने अडान दोहोर्याए ।
साथै इरानले अघि सारेका सात सर्त पूरा नभएसम्म होर्मुज जलडमरूमध्य नखोल्ने पनि उनले स्पष्ट पारे ।
रेजाईले पुटिनसँगको भेटमा रुसबाट इरानसम्म ग्यास पाइपलाइन निर्माण गर्ने विषयमा समेत छलफल भएको जानकारी दिए । उक्त पाइपलाइन निर्माण भए इरानमा ग्यासको अभाव कम गर्न र आसपासका देशमा रुसी ग्यास बिक्री गर्न सहज हुने उनको भनाइ थियो ।






















