सुर्खेत- सरकारी सेवामा प्रवेश गर्न रुकुम पश्चिमकी सिर्जना ओली (सिज्जु) ले चार वर्ष अघि दुई पटक लोक सेवा आयोगको लिखित परीक्षा पास गरिन्। तर अन्तर्वार्तामा दुवै पटक विफल भइन्।
लिखित परीक्षा पास गरेर दुवै पटक अन्तर्वार्तामा फालिएपछि आयोगको पढाइ चटक्कै छोडेर उनी कर्णालीका कुनाकन्दराको एकल यात्रामा निस्किएकी थिइन्।
यात्रामा निस्कनु अघि केही समय यात्रा सम्बन्धी भिडियो हेरेकी र किताबहरू अध्ययन गरेकी सिज्जु अन्तर्वार्ताको विफलता नै आफ्नो जीवनको ‘टर्निङ्ग प्वाइन्ट’ भएको बताउँछिन् जसले अर्को क्षेत्रमा उनको सफलताको मार्ग कोरियो।
“अन्तर्वार्तामा सफल भएको भए, यो ठाउँमा पुगिँदैन थियो होला,” उनी भन्छिन्। “दुई–दुई पटकको असफलतापछि मैले सोचेँ म यो क्षेत्रको लागि होइन रहेछु। त्यसमा नै केन्द्रित भएर किन समय खेर फाल्ने भनेर कर्णालीको एकल यात्रामा निस्किएँ। अहिले म यसमै रमाएकी छु।”
धेरैलाई थाहा नभएका पर्यटकीय गन्तव्यलाई बाहिर ल्याउने उद्देश्य बोकेर कर्णाली डुलिरहेकी उनी बाहिर चर्चा भएजस्तो कर्णालीमा दुःख, पीडा, रोग, भोक र अभाव मात्र नभएको दाबी गर्छिन्।

वन विज्ञान अध्ययन गरेकी उनी अहिलेसम्म कोही पनि पुग्न नसकेका ठाउँमा समेत पुगेर वास्तविक कर्णाली देखाउने र चिनाउने प्रयासमा जुटेकी छन्।
सिज्जुका नजरमा कर्णाली प्राकृतिक सुन्दरताले भरिएको छ। कर्णालीको आफ्नै खालको कला संस्कृति, रीतिरिवाज, भेसभुसा, खानपान र जीवनशैली छ।
एउटा यात्रीले खोज्ने जैविक विविधता, स्थानीय खानपान, फरक खालको कला संस्कृति, चालचलन, भेसभुसा, रहनसहन, खोला नाला, नदी, पहाड हिमाल, भीर पाखा, वन जंगल र तालहरू कर्णालीमा छन्।

यात्रामा यिनकै फोटो र भिडियोहरूलाई क्यामेरामा कैद गरेर उनले सामाजिक सञ्जाल टिकटक, फेसबुक र युट्युबमार्फत् प्रस्तुत गरेर कर्णालीलाई सबै सामु पु¥याइरहेकी छन्। उनले सामाजिक सञ्जालमा शेयर गरेका भिडियोहरू लाखौँ मानिसहरूले मन पराउने गरेको पाइन्छ ।
उनले डोल्पाको जगदुल्ला ताल, तुमतुम पाटन र प्रेम तालको सुन्दरताको वर्णन र यात्रालाई स्मरण गर्दै राखेका भिडियो सातलाख भन्दा बढी मानिसले हेरेका छन् ।
यस्तै जुम्लाको गोठीचौरको प्राकृतिक सुन्दरताको बयान गर्दै युट्युबमा राखिएको अर्को भिडियो पनि साढे चार लाख मानिसले हरेको देखिन्छ ।
त्यस्तै जुम्लामा पर्ने आकाशे ताल अनि माथिल्लो डोल्पाको यात्रा र त्यहाँको सुन्दरतालाई शब्द र भिडियोमा उतारेर शेयर गरिएका सामग्री पनि धेरैले हेरेका छन्।
सामाजिक सञ्जालमा फोटो र भिडियो देखेपछि आश्चर्य मान्दै कैयौँले उनलाई नेपालमा यस्ता ठाउँहरू पनि रहेछन् भन्दै घुम्न लैजान आग्रह गर्ने गर्छन्। तर अहिले गन्तव्य र रुटहरू पत्ता लगाउने काम गरिरहेकी उनले त्यस्ता आग्रहलाई पूरा गर्न सकेकी छैनन्।
मानिसका यस्ता सकारात्मक प्रतिक्रियाले उनलाई नयाँ–नयाँ गन्तव्यहरू पहिल्याउन झन् ऊर्जा थपिरहेका छन्।

कर्णालीका पर्यटकीय गन्तव्य पहिचान गरेर प्रचार गर्ने उद्देश्य बोकेकी सिज्जुले बाहिरबाट देखिने र भित्र पुगेपछि देखिने कर्णालीमा धेरै भिन्नता पाएको अनुभूति गरेकी छन्।
चार वर्षयता सय वटा जति यस्ता गन्तव्यमा पुगेकी उनी कर्णालीका गाउँ ठाउँलाई पर्यटनसँग जोड्न सके कर्णालीवासीको जीवनस्तरमा ठूलो परिवर्तन आउने ठान्छिन्।
आफ्नो यात्राले अरूलाई पनि नयाँ ठाउँहरूमा घुम्न र यात्रा गर्न प्रोत्साहित गर्ने हुँदा आफ्नो कामबाट कर्णालीको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको बुझाइ उनको छ।
“मैले नयाँ गन्तव्यहरू पहिल्याइ दिएकी छु। यस्ता गन्तव्यहरूमा पर्यटक आउने वातावरण तीनै तहका सरकारले सिर्जना गर्नुपर्छ,” उनी भन्छिन्।

अहिले नयाँ नयाँ गन्तव्य र मार्गहरू पत्ता लगाउने काम गरिरहेकी उनले भविष्यमा भने पर्यटन क्षेत्रलाई व्यावसायिक रूपमा अघि बढाउने योजना बनाएकी छन्।
अचेल उनी स्थानीय मानिस र गुगल नक्साको सहायताबाट ठाउँहरू बारे जानकारी लिएर त्यहाँसम्म पुग्ने गरेकी छन्।
सबैभन्दा बढी ४५ दिन लगाएर जुम्लादेखि डोल्पासम्मको यात्रा गरेकी उनले ४७ सय मिटर उचाइमा रहेको आकाशे ताल, ४३ सय मिटर उचाइमा रहेको हिउल्सा ताल, ४ हजार मिटर उचाइमा रहेको दूध कुण्डली तालका साथै जगदुल्ला ताल, गोठीचौरजस्ता अत्यन्तै सुन्दर र रमणीय ठाउँलाई निकै चर्चामा ल्याएकी छन्।

हिमाल चढ्दा सबै चकित
उनले ६११९ मिटरको लोबुचे हिमाल चढेकी छन्। उक्त हिमाल चढ्दाको रमाइलो प्रसङ्ग कोट्याउँदै उनी भन्छिन्, “कर्णालीबाट त्यो पनि महिला हिमाल चढ्न आएको देखेर सबै चकित थिए।”
“त्यसबेला मैले भनेकी थिएँ, यो के अचम्म भयो र? कर्णालीका महिलाहरू हरेक दिन ३–४ हजार मिटर उचाइमा घाँस काट्छन्।” “म चढ्ने हिमाल ६ हजार मिटर न हो। कर्णालीका भन्ने बित्तिकै केही गर्न नसक्ने होइन। हामी हिमाल चढ्न, एक्लै यात्रा गर्न र अरू पनि साहसी कामहरू गर्न सक्छौँ।”
समूहमा यात्रा गर्दा सोचेजस्तो यात्रा नहुने भएकोले उनले एकल यात्रा रोजेको थिइन्।
“एक्लै यात्रा गर्दा समय सीमा भन्ने हुँदैन। आफूलाई जति दिन बस्न मन लाग्छ त्यति दिन बस्न सकिन्छ। स्थानीयवासीसँग घुलमिल हुन र प्रकृतिलाई गहिरिएर बुझ्न र हेर्न मिल्छ। तर समूहमा यात्रा गर्दा यो सम्भव नै हुँदैन।” -बिबिसीबाट


विश्व खबर 




















