images
images
  • नक्कली परीक्षार्थी राखेर एसईई दिने मेयर साहविरुद्ध पक्राउ पुर्जी

    रौतहट- रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आरोपमा उनीविरुद्ध रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

    साहको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई)दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका(६ पोठियाहीका कमल साह बिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    अनुसन्धानका क्रममा मेयर साहको नाम आएकाले छानबिन गर्नु परेकाले उनीविरुद्ध पनि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराइएको प्रहरीले जनाएको छ । मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट मेयर साहको नाममा परीक्षा दिइरहेका बेला कमल पक्राउ परेका हुन् ।

    पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन् । साहले प्रहरी अनुसन्धानका क्रममा मेयर प्रेमलाल साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेका प्रहरीको भनाइ छ ।

    परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

    मेयरले भरेको परीक्षा फर्म, रजिष्ट्रेशन तथा परीक्षाका अन्य कागजातमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images