images
images
  • आजबाट एसईई सुरु, ४ लाख ८४ हजार २२७ विद्यार्थी सहभागी हुदै

    काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा आजदेखि सुरु हुँदै छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।

    करिब ५ लाख परीक्षार्थी
    एसईई परीक्षामा यस वर्ष ४ लाख ८४ हजार २ सय २७ जना सहभागी हुँदै छन् । परीक्षामा सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ लाख ६ हजार ९ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३ सय २९ परीक्षार्थी सहभागी हुँदै छन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदै छन् ।

    यस वर्ष ७ हजार २ सय सामुदायिक र ४ हजार ५ सय ६४ संस्थागत गरी ११ हजार ८ सय २९ विद्यालय एसईईमा सहभागी हुँदै छन् । परीक्षाका लागि देशका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ गरी कुल २ हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । ।

    त्यस्तै, बाग्मती प्रदेशमा सबैभन्दा बढी ४ सय ३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोसी प्रदेशमा ३ सय ७८, मधेस प्रदेशमा २ सय ७९, गण्डकी प्रदेशमा २ सय २३, लुम्बिनी प्रदेशमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

    एकैवर्ष दुईवटा एसईई
    वर्ष २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ । यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।

    त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ ।

    आवेदन दिएकाभन्दा ३१ हजार कम परीक्षार्थी
    यो वर्ष एसईईका लागि आवेदन फारम भरेकाभन्दा ३१ हजार कम विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । कूल पाँच लाख १६ हजार ५७७ जनाले फारम भरेकोमा चार लाख ८५ हजार ३९६ विद्यार्थी मात्रै परीक्षामा सहभागी हुँदै छन् ।

    यो ग्याप गत वर्षहरूको तुलनामा बढी भएको परीक्षा बोर्डका डेपुटी कन्ट्रोलर भक्त गोदार बताउँछन् । वर्ष २०७८ को एसईईका लागि आवेदन दिएका पाँच लाख १४ हजार ९७७ ले विद्यार्थीमध्ये चार लाख ८५ हजार ७५१ जना परीक्षामा सहभागी भएका थिए ।

    १४ परीक्षार्थी जापानबाट पनि
    यसवर्षको एसईईमा सहभागी हुने छात्रछात्राको संख्यामा थोरै मात्रै फरक छ । दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्राले परीक्षा दिँदै छन् ।

    यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको गोदारले बताए । सहभागीमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ हजार ६३८ परीक्षार्थी रहेको बोर्डले जनाएको छ ।

    घरपायक केन्द्र, विज्ञानको परीक्षाअघि बिदा
    यसवर्षको एसईईमा चैत २१ गते हुने विज्ञानको परीक्षाका लागि चैत २० गते बिदा दिइएको छ । गत वर्षहरूमा विज्ञानको नतिजा कमजोर भएपछि नतिजा सुधारका लागि बिदाको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

    वर्ष २०७८ को एसईईमा सबैभन्दा धेरै एक लाख ६ हजार ५१३ जना विद्यार्थीले सी ग्रेड ल्याएपछि यस्तो विकल्प अपनाइएको हो । यसवर्षको एसईईमा प्राविधिक विषयका विद्यार्थीका लागि घरपायक केन्द्रको व्यवस्था गरिएको छ ।

    यसअघि, त्यस्ता विद्यार्थीका लागि जिल्ला सदरमुकाममा एउटै मात्र केन्द्र राखिने गरेकोमा यसवर्षदेखि घरपायक विद्यालयहरूलाई केन्द्र तोकिएको बोर्डले जनाएको छ ।

    सहयोग र समन्वयका लागि आग्रह
    राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सुरु हुन लागेको एसईई व्यवस्थित र मर्यादित बनाउन सहयोग र समन्वयका लागि प्रदेश र स्थानीय अपिल गरेको छ । बोर्डले सबै प्रदेश, जिल्ला, बोर्डका शाखा कार्यालयहरू तथा गाउँपालिका महासंघ र नगरपालिका संघलाई पत्राचार गर्दै आवश्यक सहयोग र समन्वय मागेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images