images
images
  • पहिलो महिला ‘आईजीपी’को रेकर्ड राख्ने अवसर किरण बज्राचार्यलाई

    काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदको पहिलो महिला प्रतिस्पर्धी भएकी छन् ।

    गृह मन्त्रालयले सोमबार बज्राचार्य सहित पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई एआईजीमा बढुवा गरेसँगै उनी भावी आईजीपीका लागि पहिलो महिला प्रतिस्पर्धी बनेकी हुन् ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। यसमध्ये किरण बज्राचार्यले महिला आईजीका रूपमा इतिहास बनाउन सक्ने अनुमान धेरैले गरेका छन् ।

    ३० वर्षे सेवा अवधिका कारण हालका आईजीपी धीरजप्रताप सिंह चैत्र ११ गतेदेखि अवकाशमा जाँदैछन्। यससँगै बढुवा भएका पाँच एआईजीमध्येबाट एक जना नयाँ आईजीपी बन्ने सम्भावना छ ।

    तर, आईजीपी सिंह प्रहरीमा ३० वर्षे सेवा अवधि हटाएर आफ्नो पदावधि लम्ब्याउने कसरतमा छन्। उनको यो प्रयास सफल नभएको अवस्थामा पाँच एआईजीमध्येबाट एक जना आईजीपी बन्ने बाटो खुल्नेछ ।

    यसअघि नेपाल प्रहरीमा प्राविधिकतर्फ डा.आशा सिंह तथा प्रशासनतर्फ पूजा सिंह एआईजीमा बढुवा भएका थिए । तर, उनीहरू आईजीपी बन्ने गरी समूहगत बढुवामा परेका थिएन।

    एआईजी बढुवामा बज्राचार्य पाँचौं नम्बरमा छन् । प्रहरी नियमावलीमा सरकारले चाहेको एआईजी र डीआईजीबाट प्रहरी प्रमुख चयन गर्न पाउने व्यवस्था रहेको छ ।

    प्रहरी नियमावली, २०७१ अनुसार ज्येष्ठता, कार्यकुशलता, नेतृत्व वहन गर्ने क्षमता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले उपयुक्त ठानेको जोसुकै एआईजीबाट समेत आईजीपी नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ ।

    बज्राचार्य आईजीपी बनेमा उनी नेपाल प्रहरीको पहिलो महिला आईजीपी हुनेछिन् । ३० वर्षे सेवा अवधि नहटे सरकारले नेपाल प्रहरीको १०८ औं ब्याचबाट ३० औं प्रहरी महानिरीक्षक नियुक्त गर्नेछ ।

    बज्राचार्यले ललितपुर, भक्तपुर जस्ता जिल्लाको सुरक्षा कमान्ड, इन्टरपोल विभाग, वाग्मती प्रदेश प्रहरी प्रमुख जस्ता महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी छिन ।

    कुल ७५ हजार जनशक्तिमध्ये नौ हजारको हाराहारीमा मात्र महिला प्रहरी छन् । यसरी नेपाल प्रहरीमा मुस्किलले ११ प्रतिशत महिला प्रतिनिधित्व छ। अझ उच्चतहमा त निकै कम संख्या छ ।

    वरिष्ठता र बढुवामा प्राप्त अङ्क हेर्दा एआईजीमा सिफारिस भएका डीआईजीहरूबीच एक नम्बरको मात्र तलमाथि छ । त्यो भनेको बराबरी जस्तै हो । सबैभन्दा बढी वसन्त कुँवरको ६९ दशमलव ७३ छ भने बज्राचार्यको ६८ दशमलव ४८ छ। अरु तीनको पनि यही वरपर छ ।

    यसैले प्रहरी संगठनमा महिलालाई आईजी बनाएर समावेशी चरित्र सिद्ध गर्ने यो एक अवसर जस्तै हो, सरकारका लागि ।

    5 AIG

    पहिलो पटक महिला दाबेदार
    नेपाल प्रहरीको नेतृत्वका लागि पहिलो पटक महिला दाबेदार देखिएको छ। एआईजी किरण बज्रचार्य नेतृत्वको दाबेदार बनेकी हुन्। यसअघि आईजीपीमा दाबेदार गर्ने गरी एआईजीसम्म महिला पुगेका थिएनन्।

    यसअघि पूजा सिंह जनपदतर्फ पहिलो महिला एआईजी भएकी थिइन्। तर उनी नेतृत्व लिने दाबेदार भने थिइनन्। डीआईजीबाटै अवकाश हुने अन्तिम समयमा एआईजी भएकी उनी बीचमै अवकाश भइन्।

    त्यसअघि डीआईजी पार्वती थापाले आईजीपीको लाइनमा थिइन्। तर सरकारले उनलाई एआईजी नै बढुवा गरेनन्। थापा पछि डीआईजीबाटै अवकाश भएकी थिइन्। त्यो लटमा उपेन्द्रकान्त अर्याल आईजीपी भएका थिए।

    आफ्ना ब्याचका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै यसपटक किरण बज्रचार्य आईजीपीको दाबेदार बनेकी हुन्। उनले पनि भावी नेतृत्वका लागि लबिङ गरिरहेकी छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images