images
images
  • सी चिनफिङ बने तेस्रो पटक चीनको राष्ट्रपति

    काठमाडौं- सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् । शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोग(सीएमसी)को अध्यक्षमा चयन गरेको हो ।

    उनी मार्च, २०१३ मा पहिलो पटक चीनको राष्ट्रपति बनेका थिए। त्यसपछि सन् २०१८ मा एकपल्ट फेरि राष्ट्रपति बनेका उनी आगामी पाँच वर्षका लागि राष्ट्र प्रमुखका रुपमा रहने पक्का भएको हो।

    २९ सय ८० सदस्य रहेको चिनियाँ संसद्ले सीलाई राष्ट्रपतिमा सर्वसम्मत चुनेको रोयटर्सको रिपोर्टमा उल्लेख छ। गत अक्टोबरमा सी तेस्रो पटकका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को महासचिव चुनिएका थिए।

    तेस्रो पटक राष्ट्रपति चयन भएसँगै सीलाई माओ त्से तुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेरिएको छ । अहिले चुनावी प्रक्रिया अपनाइए पनि सी राष्ट्रपतिमा निर्वाचित हुने भने पहिले नै तय भइसकेको थियो ।

    राष्ट्रपतिको निर्वाचनमा विद्युतीय मतदान भएकाले मतगणना १५ मिनेटभित्र सकिएको थियो। मतदान भने करिब एक घण्टासम्म चलेको बताइएको छ। चिनियाँ संसद्का कुल २९ सय ८० सदस्यमध्ये २९ सय ५२ उपस्थित रहेको र ती सबैले सीको पक्षमा मतदान गरेको एपीको रिपोर्टमा उल्लेख छ।

    सन् २०१८ मा संविधानमा २ कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने प्रावधान संशोधन गरिएपछि सीलाई तेस्रो पटक राष्ट्रपति बन्ने ढोका खुलेको हो ।

    सी पहिलोपल्ट मार्च, २०१३ मा चीनको राष्ट्रपति बनेका थिए । त्यसपछि सन् २०१८ मा उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् ।राष्ट्रपति बन्नका लागि कार्यकालको कुनै सीमा नराखिएकाले सी कहिलेसम्म चीनको राष्ट्रपति बन्छन् भन्ने विषय उनमै निर्भर रहने भएको छ ।

    सोमबार सीले संसद्मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कोरोना महामारीपछि आर्थिक संकट झेलिरहेका बेला राष्ट्रपति सीको सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images