काठमाडौं- ११ चैत २०७९ पछि नियुक्ति हुने नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् ।
प्रहरी प्रधान कार्यालय पुगेर बुधबार उनले राजीनामा दिएको प्रहरी स्रोतले बतायो । सिंह हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको दौडमा रहेका बेला जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले राजीनामा दिएका हुन् ।
सिंहको राजीनामा पछि भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।
सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ । जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो ।
प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार उनको जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख छ ।
नागरिकता अनुसारको उमेर कायम भएको भए सिंहले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को उमेर हदका कारण २२ जेठ २०७९ मै अवकाश पाउनुपर्ने हो । सिटरोलमा फरक विवरण हुँदा उनी डीआईजी बढुवा मात्र भएनन्, एआईजी बढुवामा पनि बलियो दाबेदारी प्रस्तुत गरिरहेका थिए ।
जन्ममितिको विवाद सहतमा आएपछि सिंहले आफूमाथि प्रतिशोध साँधिएको बताउने गरेका छन् । ‘यत्तिका वर्षसम्म कुनै समस्या भएको थिएन, अहिले आएर विवाद झिक्नु प्रतिसोध मात्र हो’, उनको दाबी छ ।
हाल एआईजीमा बढुवा हुनेमध्येबाटै भावी महानिरीक्षक चयन हुन्थ्यो । बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमर फरकफरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।






















