images
images
  • पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

    काठमाडौं- पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

    मानवअधिकार क्षेत्रमा पनि काम गरिरहेका श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए ।वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।

    श्रेष्ठका ६ छोरा र एक छोरी छन् । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

    विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए ।  नागरिक समाजबाट स्वतन्त्र व्यक्ति सहभागी हुने भएपछि उनी स्वास्थ्यमन्त्री भएका थिए ।

    कम्युनिटी मेडिसिनका प्राध्यापक श्रेष्ठले नेपाल सरकारको चिकित्सा पेसा अध्ययन र अध्यापानमा पाठ्यक्रम निर्माणमा महत्वपूर्ण काम गरेका थिए । जनस्वास्थ्यको क्षेत्रमा समुदायस्तरको प्राथमिक उपचार नेपालजस्ता मुलुकलाई उपयुक्त हुने भन्दै उनी त्यसको पैरवी गरिरहन्थे । चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको स्थापनामा उनको सक्रिय भूमिका थियो ।

    पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मानव अधिकार आन्दोलनका अगुवा तथा वरिष्ठ वामपन्थी बुद्धिजीवी श्रेष्ठको निधनको खबरले आफू अत्यन्त दुःखी भएको सामाजिक सञ्जालमा श्रद्धाञ्जली प्रकट गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images