वीरगञ्ज- विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा निर्माणाधीन भवन भत्कँदा २ जना घाइते भएका छन् । जिल्ला सुनबारी नगरपालिका वडा नं ६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे घाइते भएका हुन् ।
सेजको प्रदर्शनी हलको ढलान छत भत्किएर उनीहरू घाइते भएका हुन् । करिब ९ करोडको लागतमा प्रदर्शनी हल निर्माण भइरहेको छ । उनीहरूको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी निरीक्षक रूद्र कँडेलले जानकारी दिए ।पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको टेकोमा समस्या आएर भत्किएको सिमरा सेजका इन्जिनियर यज्ञराज जोशीले बताए ।
स्थानीयले ठेकदारको लापरबाहीले निर्माणाधीन भवन भत्किएको आरोप लगाएका छन् । प्रदर्शनी हल निर्माणको जिम्मा प्रतिष्ठा निर्माण कम्पनीले लिएको छ ।
हल एक हजार २५० वर्ग मिटरको बन्ने सम्झौतामा उल्लेख छ । उद्योगका लागि आवश्यक भौतिक संरचना निर्माणमा सेजले पाँच अर्बभन्दा बढी खर्च गरिसकेको छ ।हलको छत भत्किएपछि प्रहरीले सह( ठेकेदार इटहरीका ४५ वर्षीय प्रदिप बदगाईलाई पक्राउ गरेको छ ।






















