images
images
  • अपहरित जनकपुरधामका दुई युवकको शव भारतमा फेला

    जनकपुरधाम- भारतको सीतामढीको बेला थानास्थित पर्सामा दुई नेपाली युवकको शव फेला परेको छ । उनीहरु जनकपुरधामका रहेका खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रहरीका अनुसार १३ दिनदेखि सम्पर्कविहीन जनकपुरधाम उपमहानगरपालिकाका २१ वर्षीय रोहित साह र २२ वर्षीय विष्णु साहको शव भेटिएको हो । उनीहरु एकै परिवारका रहेका खुलेको छ ।

    रोहित विष्णुलाई लिएर भारतको सितामढी जिल्लाको बेला परिहारमा आफ्नो नातेदारको घर गएका थिए। तर त्यहीँ दुवै जना अपहरणमा परेपछि सम्पर्कविहीन भएका थिए ।

    आफन्तको घर भारत पुगेका दुवै जना सम्पर्कविहीन भएको केही दिनपछि उनीहरुको परिवारलाई फिरौतीका लागि भारतीय नम्बरबाट फोन आइरहेको थियो। सुरुमा ५० लाख मागेका अपहरणकारीहरुले पछि २० लाख मागेका थिए।

    अपहरणकारीहरुले विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो।

    विष्णुको पारिवारिक सदस्यहरुका अनुसार अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा आउन भनेका थिए। तर एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छाडेपछि विष्णुको परिवार तनावमा परेको थियो।

    दुई साताअघि नै सीतामडीस्थित आफन्तको घरमा जाँदा सम्पर्कविहीन भएका उनीहरु अपहरणमा परेको भन्दै आफन्तले प्रहरीलाई खबर गरिए पनि उद्धार हुन सकेन ।

    खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवलाई परिवारका सदस्यले पहिचान गरेसँगै मृतक नेपाली रहेका र एकै परिवारका रहेका खुलेको हो ।

    भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुईवटा शव फेला परेपछि आइतबार बिहान मृतक युवकका आफन्तलाई सनाखतका लागि खबर गरेको थियो ।

    दुवै जनाको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ। भारतीय प्रहरीले नेपाल प्रहरीलाई शव बुझाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

    दुवै जना युवकका आफन्तका साथ नेपाल प्रहरीको टोली भारत पुगेको छ। दुवै जनाको शव नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images