images
images
  • जीवनरक्षाको याचना

    उपचारका लागि अर्थाभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मेडिकल वार्डमा हुम्लाको अदानचुली गाउँपालिका–३ रोकायागाउँका १३ वर्षीय बालक अखिल दमाईले जीवन बचाइदिन आग्रह गरेका छन् । घाँटीमा समस्या आएपछि हुम्लाबाट तीन दिनको पैदल हिँडेर जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका कक्षा ६ मा अध्ययनरत बालक अहिले मृत्युको मुखमा पुगेका छन् । उपचारका लागि प्रतिष्ठानमा पुगेका बालक दमाईले रुँदै भने, “मलाई डर लागेको छ, म बाँच्न चाहन्छु, मेरो बुवा जागिरे हुनुहुन्न, घरको अर्थावस्था कमजोर छ, हामी गरिब छौँ, आर्थिक सङ्कटले थप उपचारका लागि बुवाले मलाई जुम्लाबाट अन्त ठाउँमा लैजान सक्नुभएको छैन, म बाँच्न चाहन्छु ।” बालकलाई घाँटीको क्यान्सर भएपछि थप उपचारका लागि चितवन र काठमाडौँ सिफारिश गरिएको छ । एम्बुलेन्सको भाडासमेत आफूसँग नभएपछि उनका बुवा जाड दमाईले आर्थिक सहयोगको आग्रह गर्नुभएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीले रु सातदेखि आठ लाखसम्म जुटाउन सक्नुभयो भने छोरा बाँच्न सक्ने नत्र नसकिने जानकारी दिएपछि थप चिन्तित र एक्लो छोरा गुमाउँछु कि भन्ने चिन्ताले पिरोलीरहेको उहाँले बताउनुभयो । आफ्नो छोरालाई सहयोग गर्न चाहने मनकारी व्यक्तित्वले सहयोग गर्न चाहेमा बालकका बुवाको मोबाइल नम्बर ९८६४९०५५२६ मा सम्पर्क गरी आवश्यक सहयोग गर्न सकिन्छ । सिधैँ बैंक खातामा सहयोग गर्न चाहनेले अखिलका बुवाको अदानचुली गाउँपालिकाको श्रीनगरमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर १२७१०४०६७८४१३०१ मा रकम जम्मा गर्न सकिन्छ । बालकको उपचारमा सहयोग पु¥याउनका लागि विभिन्न ठाउँबाट अहिलेसम्म रु २५ हजार रकम जुटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images