काठमाडौं- पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका छन् । थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अङ्कमाल गर्दै स्वागत गरे ।
थापा उनै व्यक्ति हुन् जसले राप्रपाको अध्यक्षमा लिङदेनसँग पराजित भएपछि राप्रपा नेपाललाई ब्युँताएका थिए ।
राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न दलका नेताहरू पनि पुगेका छन् ।

एक वर्षअघिसम्म राजेन्द्र लिङ्देन र कमल थापा एकै पार्टीमा थिए। तर २०७८ मंसिरमा भएको एकता महाधिवेशनबाट अध्यक्ष पदमा लिङ्देनले थापालाई पराजित गरिदिए।
जित्ने कुरामा ढुक्क थापा अप्रत्यासित हारपछि राप्रपामा बस्नै सकेनन्। हारको दोष पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगीमाथि थोपर्दै उनले २०७८ फागुन ७ गते राप्रपा नेपाल ब्युँत्याए।
उक्त पार्टी ब्यूँत्याएर नयाँ राजनीति थालेका थापा र लिङ्देनबीच त्यसयता संवाद करिब बन्द थियो। थापाको नयाँ पार्टीले वैशाख ३० को स्थानीय तह निर्वाचन र मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा निराशाजनक प्रदर्शन गर्यो।
उता लिङ्देनले राप्रपालाई प्रतिनिधिसभामा एक सिटबाट १४ सिटमा पुर्याए। यसबीचमा दुई नेता मिल्ने दबाब बढिरहेका बेला बिहीबार पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसले उनीहरुबीचको भेट जुरायो।
राप्रपाले भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा थापा पनि पुगे। जहाँ थापालाई न्यानो स्वागत गर्दै लिङ्देनले उनीसँग अंकमाल गरे। अतिथिका रुपमा थापालाई आफूसँगैको सोफामा राखेर भलाकुसारी गरे।























