images
images
  • मधेसको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त

    जनकपुरधाम- मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    प्रदेश प्रमुख मिश्रले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । यसअघि यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख मिश्रसमक्ष दाबी गरेका थिए ।

    बुधबार नै नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६२ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

    बारा १(२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित यादव प्रदेशका पूर्वसभामुखसमेत हुन् । मधेस प्रदेशमा जसपाका १६ जना सांसद छन् ।

    त्यस्तै प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एकजना सांसद छन् ।

    मधेसमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको छ ।

    5 1

    प्रतिक्रिया दिनुहोस्

    images