काठमाडौं- ब्राजिलका महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरबाट पीडित पेलेको ८२ वर्षको उमेरमा उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति उनको निधन भएको बीबीसीले जनाएको छ ।
१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनको खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिए। तीमध्ये तीन वटा ब्राजिल आफैंले जितेको थियो। पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए।
लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । उनले विश्वकपका कुल १४ वटा खेलमा १२ गोल गरेका थिए।
सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।
६२ वर्ष फुटबल खेलाडीको रुपमा बिताएका उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे। ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन्। २१ वर्षको करियरमा उनले कुल १,३६३ खेल खेल्दा विश्व कीर्तिमान १,२८१ गोल गरेका थिए।
पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
यसैबीच पेलेको निधनमा तीन दिन ब्राजिलमा राष्ट्रिय शोकको घोषणा गरिएको छ। राष्ट्रपति जैर बोल्सोनारोको सरकारले तीन दिने शोकको घोषणा गर्दै एक विज्ञप्तिमा निकालेर पेले ब्राजिलको नाम उचाल्ने एक महान र देशभक्त नागरिक भएको बताए।
उनी मिर्गौला र प्रोस्टेट रोगबाट ग्रसित थिए । पेलेको निधनबारे उनकी छोरीले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।





















