images
images
  • आउँदो सोमबारदेखि काठमाडौँको घर घरका धारामा मेलम्ची पानी आइपुग्ने

    काठमाडौं – एक हप्तामा फेरि काठमाडौँबासीले मेलम्चीको खानेपानी पाउने भएका छन् । मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि सुरुङमा पानी पठाउन थालेकाले काठमाडौं उपत्यकासम्म पानी आइपुग्न एक हप्ता लाग्ने भएको हो । अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरण गर्न थालेको परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

    खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी भर्न सुरु गरेको उनले जानकारी दिए । उनले भने, ‘मेलम्चीको सुरुङमा भएका साना मर्मतका काम सकिएर थोरैथोरै गरेर सुरुङमा पानी छोडिरहेका छौं ।’

    बाढीको जोखिम हुने भएपछि गएको असारदेखि सुरुङका ढोकाहरु बन्द रहेकाले त्यहा केहि फोहर समेत जमेका थिए । गत महिनादेखि नै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीका कामहरु सकेर पानी सुरुङमा भरिहेको उनले बताए । मेलम्चीको पानी सुन्दरीजलको स्टोरेजमा आइसकेपछि त्यहा केहि दिन फिल्टर हुन लाग्छ त्यसपछि त्यहाबाट उपत्यकाका विभिन्न स्थानमा वितरण हुन्छ उनले भने ।

    गत वर्ष स्थायी संरचना बाढीले क्षतिग्रस्त भएपछि वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेर अस्थायी रुपमा पानी ल्याउनुपर्ने अवस्था छ । २०७९ वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा गत असारदेखि रोकिएको थियो ।

    यो वर्षको वर्षायाममा आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिएको उनले जानकारी दिए । यस पटकको तयारी सम्पूर्ण रुपमा सकिएकाले अब अर्को वर्षा शुरु हुनु भन्दा पहिलासम्मलाई सुरुङबाट पानी उपत्यकामा पठाउन कुनै पनि समस्या नभएको उनले बताएका छन् ।

    आयोजनाको दीर्घकालीनरुपमा मर्मत गर्न एशियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बर सम्ममा आएपछि नै योजनाबद्धरुपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images