काठमाडाैं-निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न आवश्यक मापदण्ड तय गरेको छ।आयोगको बिहीबार बसेको बैठकले उम्मेदवारी दिन आवश्यक पर्ने योग्यता मापदण्ड जारी गरेको प्रवक्ता शालिग्राम पौडेलले बताए।
मापदण्डअनुसार विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्तिले प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवार बन्न पाउने छैनन्। प्रतिनिधिसभाका हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभाका हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने छ।त्यस्तै उम्मेदवार बन्न २५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ भने लाभको पदमा कायम रहेको अवस्थामा उम्मेदवारी दिन पाइने छैन। ‘लाभको पद’ भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनुपर्ने आयोगले भनेको छ।
आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदानप्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार बन्न अयोग्य हुनेछ।’
निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाएर दुई वर्षभन्दा कम सजाय भोगेमा पनि उम्मेदवार हुन नपाउने आयोगको मापदण्ड छ।भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोग लगायतका फौजदारी कसुरमा दोषी प्रमाणित व्यक्ति पनि उम्मेदवार हुन अयोग्य हुनेछन्।त्यस्तै संगठित अपराधसम्बन्धी कसुरमा कैद सजाय पाएको वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार हुन पाउने छैन। यस्ता व्यक्ति उम्मेदवार भएको थाहा भए कसैले पनि उजुरी दिन सक्नेछन्।
‘मनोनयनपत्र दर्ता भएको कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने अन्य कुनै उम्मेदवार वा निजको प्रतिनिधिलाई लागेमा स्पष्ट प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृतसमक्ष उजुरी दिन सकिने व्यवस्था छ,’ आयोगले भनेको छ।उजुरी परेको मनोनयनपत्र र दर्ता भएका मनोनयनपत्र जाँच गर्दा कानुनबमोजिम उम्मेदवार हुन आवश्यक योग्यता पूरा नगरेको र अयोग्य रहेको भए सम्बन्धित निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारी बदर गर्ने आयोगले जनाएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने व्यक्तिले कर, राजस्व, शुल्क, दस्तुर तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने जनाएको छ । उम्मेदवार दर्ताको दुई दिनअघि आयोगले विज्ञप्ति जारी गर्दै उम्मेदवार बन्नेहरूले स्वघोषणा गर्नुपर्ने सूचीमा सरकारी पेस्की, बेरुजु तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने उल्लेख छ । त्यसैगरी उम्मेदवार हुने व्यक्तिले विदेशको स्थायी आवासीय अनुमति पत्र (डीभी/पीआर) नलिएको हुनुपर्ने बताए ।
‘स्वघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयनपत्र पेश गर्नुपर्ने भएकाले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मिति २०७९ असोज २३ गते बिहान १० बजेदेखि अपराह्न ६ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने भएकाले मनोनयन दर्ता गर्नुअगावै स्पष्ट भई स्वघोषणापत्रमा दस्तखत गर्नुहुन जानकारी गराइन्छ,’ आयोगले भनेको छ‚ ‘उम्मेदवारले आफैं घोषणा गरेको विषयमा कुनै प्रश्न उठेमा सोको निरूपण गर्ने दायित्व उम्मेदवार स्वयंको हुने व्यहोरासमेत सर्वसाधारणको जानकारीका लागि अनुरोध गरिन्छ ।’
निर्वाचन आयोगले जारी गरेको सूची गर्न हुने वा नहुने विषयहरू
स्वघोषणा गर्नुपर्ने विषय
(क) नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको ।
(ख) पच्चीस वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको ।
(ग) प्रतिनिधिसभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको,
(घ) कुनै सङ्घीय कानूनले अयोग्य नभएको ।
(ङ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको ।
(च) सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको ।
(छ) प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (ञ)÷ प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (ञ) बमोजिमको अयोग्यता नभएको ।
(ज) निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (३) बमोजिम कारवाही नभएको ।
(झ) प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको लागि कुनै दलको बन्दसूचीमा नाम नरहेको ।
(ञ) प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि अन्य कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारको लागि मनोनयन पत्र पेश नगरेको ।
(ट) कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको ।
(ठ) सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको ।
(ड) संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमति पत्र (डिभी/पीआर) नलिएको ।
(ढ) न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको ।
(ण) प्रचलित कानून बमोजिम कुनै सरकारी निकायलाई बुझाउनु पर्ने कर, राजस्व, शुल्क, दस्तुर तिर्न बुझाउन बाँकी नरहेको ।
(त) निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिवद्ध रहेको ।
(थ) नेपालको संविधान, कानून र निर्वाचन ऐन, नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिवद्ध रहेको ।
(द) म उम्मेदवार भएको पदमा निर्वाचित भएको अवस्थामा मैले मनोनयन पत्र साथ सिलबन्दी रूपमा पेश गरेको सम्पत्ति विवरण निर्वाचन आयोगबाट सार्वजनिक गर्न मेरो मञ्जुरी छ ।
कसले उम्मेदवार बन्न पाउँदैनन्
१. प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (ञ) को व्यवस्था
(ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,
(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको,
(ङ) सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
(च) जातीय भेदभाव तथा छुवाछूत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,
(छ) खण्ड (घ) र (ङ) मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
(ज) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर,
(झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,
(ञ) मानसिक सन्तुलन ठीक नभएको,
२. प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), छ), (ज), (झ) र (ञ) को व्यवस्था ः
(ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,
(घ)भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,
(ङ) सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
(च) जातीय भेदभाव तथा छुवाछूत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,
(छ) खण्ड (घ) र (ङ) मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
(ज) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर,
(झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,
(ञ) मानसिक सन्तुलन ठीक नभएको ।





















