images
images
  • नेविसंघ केन्द्रको एक्सन: त्रिविमा लफडा मच्चाउने समूहलाई गर्‍यो कारबाही

    काठमाडौं- नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय कार्यसमितिले त्रिभुवन विश्वविद्यालयस्तरीय समिति विघटन गरेको छ । नेविसंघका नाममा पछिल्ला वर्षहरुमा नकारात्मक क्रियाकलापहरु भइरहेको भन्दै केन्द्रले एक्सन लिएको हो ।

    नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सोमबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ त्रिवि समिति विघटन गरिएको र अब अधिवेशन गरिने बताएका छन्। उनले केन्द्रको निर्देशनविना अब नेविसंघ त्रिवि समितिले कुनै पनि विज्ञप्ति निकाल्न नपाउने पनि उल्लेख गरेका छन्।

    अर्को घोषणा नहुन्जेल नेविसंघको नाममा कुनै वक्तव्य निकाल्न नपाइने, केन्द्रसँग अनिवार्य अनुमति लिनुपर्ने, कुनै निर्णय गर्नुपरे व्यक्तिगत लहडबाजीमा नभई आपसी सहमतिमा लिनुपर्ने केन्द्रको निर्णय छ ।

    संघका अध्यक्ष दुजाङ शेर्पाले कुरा गर्दै विश्वविद्यालयमा भइरहेका कतिपय गतिविधिले संगठनको मर्यादामा असर परेकाले कदम चालेको बताए । ‘नेविसंघको नाममा विभिन्न समूह बनाउने, आफूखुसी गतिविधि गर्ने क्रम बढ्यो,’ उनले भने, ‘केन्द्रको निर्णयले त्यो रोकिनेछ । अधिवेशनबाट समिति बनाउनका लागि केन्द्रीय प्रतिनिधि पठाउँछौं ।’

    त्रिवि प्रशासनमा लामो समय तालाबन्दी, प्राध्यापकहरुमाथि कुटपिटलगायत घटनाहरुमा नेविसंघका कार्यकर्ताहरु मुछिएकोबारे पनि नेविसंघ केन्द्रले चासो व्यक्त गरेको छ । ‘आन्दोलनजस्तो महत्वपूर्ण कुरालाई आ–आफ्नो इच्छाअनुसार लैजाने काम भयो,’ शेर्पाले भने, ‘अब त्यस्तो हुँदैन ।’

     

    Bigepati 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images