काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बागमती प्रदेशको केही स्थानमा भारी वर्षा हुने जनाएको छ ।
‘बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेकोले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाका कारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनरयातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


विश्व खबर 


















