काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा बस्ने भएपछि न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोडेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीश कार्की, भट्टराई, बम र केसी थिए । रिट निवेदक पक्षका कानून व्यवसायीले न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलास छाड्न पर्ने माग गरेका थिए ।
मंगलबार बसेको इजलासमा न्यायाधीशद्वय केसी र श्रेष्ठले छुट्टा–छुट्टै आदेश पढेर सुनाउँदै अलग हुन नसक्ने बताए । उनीहरूले पढेर सुनाएको आदेशमा यो मुद्दाबाट अलग हुनुपर्ने नदेखिएको उल्लेख गरेका छन् ।
त्यसपछि न्यायाधीशद्वय कार्की र भट्टराईको तर्फबाट न्यायाधीश कार्कीले संयुक्त आदेश सुनाएका छन् । न्यायाधीश केसी र श्रेष्ठले बस्ने निर्णय गरेपछि आफूहरू अलग हुने निर्णय पुगेको न्यायाधीश कार्कीले सुनाए ।
उनीहरूले यस मुद्दासँग यसअघि केसी र श्रेष्ठले फैसला गरेको मुद्दाको सम्बन्ध रहेको जिकिर गरेका छन् । त्यसैले उनीहरू यसमा बस्ने भएपछि आफूहरू अलग भएको जनाएका छन् । यसपछि सर्वोच्च अदालतले गठन गर्ने संवैधानिक इजलासमा न्यायाधीशद्वय केसी र श्रेष्ठ नभएमा आफूहरू बस्न तयार रहेको कार्कीले बताए । प्रधानन्यायाधीश जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा २३ जेठमा अर्को पेशी तोकेका छन् ।
प्रकाशित मिति २०७८ जेठ १८ गते मङ्गलबार ०८:१८