उदयपुर- उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीनजनाको बीभत्स हत्या भएको छ । प्रदेश–१ प्रहरी प्रवक्ता एसपी नविनराज राईका अनुसार उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा एकै परिवारको तीनजनाको हत्या भएको हो ।
उनका अुनसार शुक्रबार बेलका–७ मा स्थानीय ३७ वर्षीया राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र १२ वर्षीया छोरा सुजन बस्नेतको बीभत्स हत्या भएको हो । मृतक सबैको शव दिलुवाटारको वाबिङखोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिएको थियो ।
उनीहरूको शव खोलामा भेटिएको थियो । राजकुमारका दाइ नाता पर्ने व्यक्तिले तीनैजनाको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको १ नं। प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरीले जानकारी दिए । ‘घटनामा संलग्न मुख्य मान्छेलाई पक्राउ गरिएको छ,’ डिआइजी गिरीले भने ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा डिएसपी राकेश कुमार पोदारका अनुसार हत्यामा संलग्न भएको आशंकामा एकजनालाई खुकुरीसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका छन् । पारिवारिक विवादको कारणले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।






















