काठमाडौं- नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाको भदौ १७ गतेको बैठकले पुनः पारित गरेको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्तुत रूपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बहुमतको आधारमा विधेयक पारित भएको घोषणा गरेका थिए ।
विधेयक प्रतिनिधि सभाले यसअघि नै पारित गरिसकेको छ । राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देश सहित पुनर्विचारका लागि पठाएको विधेयक संसद्को दुवै सदनले हुबहु पारित गरेको हो । पुनः पारित भएर गएको विधेयक फेरि फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई नरहेको सरोकारवालाहरु रहेको भनाई रहेको छ ।
संविधानको धारा ११३ (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार दुबै सदनले फिर्ता भएको विधेयक प्रस्तुत रूपमा ९जस्ताकोे तस्तै० वा संशोधन सहित पारित हुन सक्छ ।
‘राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ’ संविधानको धारा ११३ उपधारा(४) मा उल्लेख छ ।






















