काठमाडौं । प्रहरीले तीन महिना लामो अनुसन्धानपछि ललितपुरमा खेलाडी र समाजसेवाको आवरणमा रहेका एकजना शंकितलाई लागूऔषध ५० ग्राम एम्फेटामाइन (आइस ड्रग) सहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरले आफुलाई ललितपुर भलिवल क्लबको टिम म्यानेजर र सदस्य बताउने अनुप श्रेष्ठलाई पक्राउ गरेको हो ।
ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले अनुपलाई आइतबार कुमारीपाटीबाट लागूऔषध एम्फेटामाइन सहित नियन्त्रणमा लिएको पुष्टी गरेकी छन् । उनले अनुपका बिषयमा तीन महिना अघि आएको सूचना आइतबार पुष्टि भएको पर्दाफासलाई बताइन् ।
अनुसन्धान अधिकारीहरुका अनुसार भलिवल क्लवसँगै टोल सुधार समितिमा रहेका अनुपले त्यही आवरणमा काठमाडौं उपत्यकाका धनाढ्य युवायुवती र खेलाडीहरुलाई महँगो पार्टी ड्रग्स एम्फेटामाइन बिक्रीगर्दै आएका थिए ।
प्रहरीले अनुपसँगै अन्य दुईजना अम्रिता खड्का र परदु गुरुङलाई पक्राउ गरेको छ ।प्रहरीले अनुपको कोठाबाट ५० ग्राम अवैध लागुऔषध एएम्फेटामाइन, त्यसलाई जोख्ने डिजिटल तराजु, अन्य केही लागुऔषध र ५० हजार रुपैया बरामद गरेको छ ।
अनुसन्धान अधिकारीका अनुसार अनुप आफै सेवनकर्ता हुन् र उनी लागुऔषधको डिलर भएको खुलेको छ । प्रहरीले पक्राउ परेका शंकितहरू बिरूद्व सोमबार ललितपुर जिल्ला अदालतबाट म्याद लिएर यो समूहका बिरूद्व थप अनुसन्धान गर्ने जनाएको छ ।


विश्व खबर 




















