images
images
  • प्रधानमन्त्री ओली भन्छन्-‘किड्नी ट्रान्सप्लान्ट नभएको भए साउनमा मेरो १८ औँ पुन्यतिथि हुन्थ्यो’

    काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आइरहेको बताएका छन् । ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवस कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा उनले देश फड्को मार्दै गएको बताए ।

    ‘अहिले निर्यात पनि बढेको छ ।अर्थतन्त्रको आकार पनि बढेको छ। विदेशी मुद्रा सञ्चिति पनि बढेको छ’, उनले भने, ‘अवस्थामा परिवर्तन आएन भन्ने होइन, नेपालीको सरदर आयु कुनै बेला ४२ थियो, त्यो बढेर ४९ हुँदै ७२ पुगिसकेको छ ।’

    नेपालमा पहिले जस्तो जीविकाका लागि भारी नै बोक्नुपर्ने र चर्को शारीरिक श्रम गर्नुपर्ने बाध्यतामा धेरै कमी आएको पनि उनले बताए ।

    ‘अहिले विरामी पर्दा स्वास्थ्य उपचार हुने गरेको छ । नेपालमा महत्त्वपूर्ण अंगको ट्रान्सप्लान्ट हुने गरेको छ’, उनले भने, ‘मेरै कुरा गरौँन । किड्नी ट्रान्सप्लान्ट गर्ने सु्विधा नभएको मेरो त अस्ति साउनमै १८ औँ पुन्य तिथि भइसक्थ्यो ।

    पहिलो पटक ट्रान्सप्लान्ट गर्न नेपालमा सुविधा नहुँदा भारत गएँ । १३ वर्षपछि मैले नेपालमै ट्रान्सप्लान्ट गरेँ ।नेपालमै ट्रान्सप्लान्ट गर्दा सजिलो छ । औषधोपचारदेखि डाक्टरको फलोअपमा अस्पताल जान पनि सजिलो छ । दोस्रो पटक ट्रान्सप्लान्ट नेपालमै गर्दा मलाई सजिलो भएको छ । औषधि खान पनि अर्को देशतिर जानुपर्दैन ।’

    ‘सबै तहका सरकारहरु जनताप्रति उत्तरदायी भएर प्रस्तुत हुनुपर्छ’
    प्रधानमन्त्री ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन्। ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रंशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

    “नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ। नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतङ्कमा रहनुपर्ने अवस्था हुनु हुँदैन।”, प्रधानमन्त्री ओलीले भने, “हामी जनताका सेवक हौँ। हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनु पर्छ। हामीभित्र घमण्ड पस्नु हुँदैन। तनाव लिने र दिने काम पनि गर्नु हुँदैन। हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीब्रताका साथ अगाडि बढ्नुपर्छ।”

    प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए।

    व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएका प्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठुला उद्योगहरु सञ्चालनमा आएका सुनाए।

    अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको पनि उनले जनाए। उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको सुनाए।

    आफू पहिला प्रधानमन्त्री हुँदा नौ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गरे। विभिन्न क्षेत्रमा योगदानकर्तालाई महानगर गौरव सम्मानबाट पुरस्कृत गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले महानगरपालिकाको एकद्वार प्रणाली, विद्युतीय नक्सापास प्रणाली र फोहोर सङ्कलनका लागि मोबाएल एप्सको शुभारम्भ गरे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images