ललितपुर– महालक्ष्मी नगरपालिका–८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
प्रहरीका अनुसार अनियन्त्रित भएको हाइस घरको गेटमा ठोक्किएपछि गेटछेउमा पार्किङ गरी राखिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किएको थियो । दुर्घटनामा कारमा सामान्य क्षति पुगेको छ ।
दुर्घटनामा घाइते हुनेमा हाइस चालक महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय अखिल राजथला रहेका छन् । उनको अवस्था गम्भीर रहेको र किस्ट अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, महालक्ष्मी नगरपालिका–७ चागाथलीका २५ वर्षीय आशिष महर्जनको पनि अवस्था गम्भीर रहेको छ । उनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर घर भई हाल महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने १८ वर्षीया एलिसा लामाको अवस्था मध्यम रहेको छ भने महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय राज महर्जनको अवस्था सामान्य रहेको छ । दुवै जनाको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।
हाइसमा चार जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






















