काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पासविपरीत बनाइएका संरचना भत्काउन थालेको छ । महानगर मेयर बालेन्द्र साह (बालेन)आफैँ उपस्थित भएर अनधिकृत संरचना भत्काउन थालेका हुन् ।
पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरू गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पत्र हाउसमा गरेको हो।
कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख राजनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठामाडौंमल पुगेको थियो।
मेयर साहले गोप्य तालिका तयार गरी अवैध संरचना भत्काउन थाल्नुभएको छ। ३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन्टमा व्यवसाय सञ्चालन गरेपछि महानगरले काठमाडौं मलको दुईतले बेसमेन्ट भत्काएको हो। महानगरले डोजर, क्रेनसहित सामग्री लिएर संरचना भत्काउन पुगेका थियो।
कामपा प्रमुख साहले सूचनालाई अटेर गरी मनपरी रूपमा संरचना निर्माण गरेपछि भत्काउन अभियान शुरू गरेको बताए । डबल पार्किड स्पेसलाई व्यवसाय सञ्चालन गरे पनि भत्काएका हो, कामपा प्रहरी प्रमुख पाण्डेले भने । काठमाडौं मलको संरचना भत्काएपछि सो टोली खिचापोखरीस्थित आरबी कम्प्लेक्स पुगेको थियो।
नक्सा पासविपरीत तथा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गरेका छन् ।


विश्व खबर 



















