images
images
  • वार्षिक ५५ लाख बढि कमाउने गरी नेपाली नर्सहरु बेलायत जान पाउने, दुई देशबीच भयो श्रम सम्झौता

    पहिलो चरणमा कम्तीमा १ हजार नर्स पठाउने

    काठमाडौ- नेपाल र बेलायतका पदाधिकारीबीच आज नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । समझदारी पत्रमा हस्ताक्षर गरेसँगै नेपाली नर्सलाई रोजगारीको लागि बेलायत जाने खुला भएको छ ।

    समझदारी पत्रमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतको तर्फबाट नेपालको लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका थिए ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितीमा दुवै देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

    ‘यस समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवम् नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशिक्तको विकासमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ,’ समझदारी पत्रमा हस्ताक्षरपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

    समझदारी पत्रमा बेलायतको स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था गरिएको छ ।

    समझदारी पत्रमा स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (जिटुजी) प्रक्रिया बमोजिम गरिने उल्लेख गरिएको छ ।

    सम्झौतापत्रमा उल्लेख भएअनुसार अब नेपालबाट नर्स मात्रै नभएर ल्याब असिस्टेन्ट, अनमी, बीएन नर्स, फार्मेसिस्टलगायत पनि बेलायत काम गर्न जान पाउनेछन ।

    बेलायतका काम गर्न पहिलो चरणमा कम्तीमा १ हजार नर्स पठाउने गरी सम्झौता गरिएको श्रम मन्त्रालयले जनाएको छ। रोजगारीका लागि बेलायत जान चाहने नर्सहरूले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, बेलायतमा पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६ अंक ल्याउनुपर्ने सर्त रहेको सचिव अर्यालले बताए।

    सम्झौताअनुसार कम्तीमा साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउँनेछन् । बेलायत जाने नर्सले वार्षिक ३६ हजार पाउन्ड स्टर्लिङ अथवा वार्षिक करिब ५५ लाख नेपाली रुपैयाँभन्दा बढी कमाउने अवसर पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images