images
images
  • नेपाल इभ टुरिजम टुर-२०२२ को तयारी पूरा: महानायक हमालसहित दर्जन नेपाली कलाकार दुबईमा

    काठमाडौं-संयुक्त अरब इमिरेट्स (युएई)मा हुने नेपाल इभ टुरिजम टुर–२०२२ को तयारी पूरा भएको छ। ब्लु चीप ग्रुप अफ कम्पनी र ड्रिम हाइ नेपालको संयुक्त आयोजनामा अगस्ट २१ आइतबार दुबईको वर्ल्ड ट्रेड सेन्टरस्थित शेख रसिद हलमा कार्यक्रम हुँदैछ।

    शुक्रबार दुबईमा कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट कमल जिसी, ज्ञानेन्द्र कार्की, भीममल्ल ठकुरीको उपस्थिती थियो। पत्रकार सम्मेलनमा कार्यक्रमका लागि युएई आएका अभिनेता राजेश हमाल पत्नी मधुसहित उपस्थित थिए। महानायक हमालले नेपाल इभ टुरिजम टुर–२०२२ मा उपस्थित हुन युएईमा रहेका नेपालीलाई अनुरोध गरे।

    नेपालको कला संस्कृतिको संरक्षण र पर्यटन प्रर्वद्धन गरी नेपालमा विदेशी पर्यटक भित्र्याउने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त कार्यक्रममा प्रस्तुती दिन विभिन्न विधाका एक दर्जन भन्दा बढि नेपाली कलाकारहरु दुबई आइपुगेका छन्। गायिका सुनिता दुलाल, स्मृती दाहाल, स्वस्तिमा खड्का, स्ट्याण्ड अप कमेडियन सन्दीप क्षेत्री, खेम सेञ्चुरी, टेरिया फौजा मगर, स्मिता दाहाल, अञ्जली अधिकारीलगायत युएई आइसकेका छन् । शिव परियार र केकी आधिकारी शनिबार नै यहाँ आइपुग्ने बताइएको छ। नेपालको पर्यटन विकासमा टेवा दिन युएईमा रहेका एक नेपालीले कम्तिमा दुई पर्यटक नेपाल पठाउन प्रेरित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ।

    दर्शकहरुको सुविधाको लागि युएईको सातै राज्यबाट निःशुल्क यातायात सेवा उपलब्ध गराइएको बताइएको छ। कार्यक्रममा नेपाली कला र सँस्कृती झल्कने प्रस्तुतीहरु रहने आयोजकले बताएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images