images
images
  • फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल गरियो : मेयर बालेन

    काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको बताएका छन् ।

    काठमाडौँको फोहोर बोक्ने टिपर र डोजर बञ्चरेडाँडामा अज्ञात समूहले तोडफोड गरेको घटनालाई लिएर मेयर बालेनले सामाजिक संञ्जाल मार्फत उक्त कार्य आफूलाई असफल बनाउन नियोजित तरिकाले गरिएको बताएका छन् ।

    उनले सामाजिक संञ्जालमा यस्तो लेखेका छन् :
    फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।
    यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।

    कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।

    केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images