काठमाडौं- काठमाडौंमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठ्न रोकिएपछि सिंगो उपत्यका कुरूप देखिनुका साथै हैजा फैलने खतरासमेत बढेर गएको छ । फोहोर व्यवस्थापनका लागि प्रभावकारी पहल अघि बढाउन केन्द्रदेखि स्थानीय सरकार नै असफल बनेको काठमाडौंवासीको भनाइ छ ।
पछिल्लो समय काठमाडौका मेयर बालेन्द्र शाहले पनि फोहोर उठाउने विषयलाई उच्च प्राथमिकतामा राख्न नसक्दा काठमाडौं फोहोरमाडांैका रूपमा विकास हुन पुगेको आरोप स्थानीयवासीको छ । केन्द्रीय सरकारका प्रधानमन्त्री शेरबहादुृर देउवा, सहरी विकासमन्त्री मेटमणि चौधरी तथा मुख्य सचिव शंकरदास वैरागीलगायतका उच्च पदस्थहरूले पनि काठमाडौंको फोहोर व्यवस्थापन गर्ने कार्यमा चासो दिन सकेका छैनन् ।
काठमाडौं उपत्यकाका चोक तथा गल्लीमा हप्तौंदेखि फोहोर थुप्रिँदै आएको छ । सम्भवत फोहोर नथ्रुप्रिएका ठाउँ छैनन् । लामो समयसम्म सडक तथा चोकमा फोहोर थुप्रिँदा हैजाको प्रकोप बढ्ने सम्भावना बढेर गएको हो ।
काठमाडौं महानगरपालिका आफैं पनि समेत लामो समय फोहोर नउठ्दा हैजालगायत प्रकोप बढ्न सक्ने खतरा उत्पन्न भएको जनाएको छ । ‘लामो समय फोहोर उठ्न नसक्दा दुर्गन्ध बढेको छ, हैजा फैलने खतरा उत्पन्न भएको छ ।’ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले भनिन् ।
महानगरपालिकाले आफ्नो तर्फबाट फोहोर उठाउने विषयमा सबै विकल्प खुला गरेर काम गर्दा पनि स्थानीयको अवरोधका कारण नियमित फोहोर उठाउन नसकिएको जनाएको छ ।
काठमाडौं महानगरपालिकाले यसअघि फोहोर विसर्जन गर्ने नुवाकोटस्थित सिसडोल तथा बन्चरेडाँडा ल्याल्डफिल्ड साइटको बाटो निर्माणका लागि काठमाडौंवासीलाई एक साता घरमा नै फोहोर राख्न अनुरोध गरेको थियो । एक सातापछि फोहोर उठाउने क्रममा बाटो बिग्रिएको, प्रदूषण बढेको जस्ता समस्या लिएर ल्यान्डफिल्ड साइटका स्थानीयले फोहोर बोकेका गाडी आवातजावत रोकेका थिए ।
गत वैशाख र जेठ पनि फोहोर उठाउन बन्द भएको थियो । जेठ अन्तिम साता सरकार र स्थानीयबीच सहमति भएसँगै फोहोर उठाउन थालिएको थियो । स्थानीयले जग्गा अधिग्रहण प्रक्रिया थालनी गरिनुपर्ने, फोहोर संकलन गर्दा नै कुहिने र नकुहिने फोहोर छुट्टयाउने र कुहिने फोहोरलाई मल कारखानामा लैजानुपर्ने, स्थानीय समुदायको रोजगारसम्बन्धी व्यवस्था हुनुपर्ने, स्वास्थ्य बिमाको व्यवस्था हुनुपर्ने, सडकको स्तरोन्नति गरिनुपर्नेजस्ता माग राख्दै आएका थिए । स्थानीयका माग सम्बोधन गर्नेमा सरकार सकारात्मक देखिएपछि सहमति जुटेको थियो ।
सरकार र स्थानीय जनप्रतिनिधि तथा स्थानीयबीच सहमतिअनुसार सरकारले बाटो निर्माणलगायतका काम अहिले पनि गर्दै आएको छ । तर, कतिपय ठाउँका स्थानीयले फोहोरका गाडीका कारण दूध बोक्ने गाडीलाई समस्या भएको, बाटोमा दुर्गन्ध फैलिएकोलगायका कारण देखाउँदै फेरि फोहोरका गाडी आवातजावतमा अवरोध सिर्जना गर्ने गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
एउटा समूहसँग सहमति गर्ने गरे पनि विभिन्न समयमा अलगअलग समूहले विभिन्न मागमा फोहोरका गाडी आवातजावतमा समस्या पार्ने गरेको महानगरपालिकाको गुनासो छ । स्थानीयले भने आफ्ना माग सम्बोधन गर्न सरकार तयार नदेखिएको आरोप लगाउने गरेका छन् ।
विगत १६ वर्षदेखि नुवाकोटको सिसडोलमा काठमाडौं, ललितपुरलगायत ठाउँको फोहोर फालिँदै आएको छ । सरकारले दिगा रूपमा फोहोर व्यवस्थापन गर्न नुवाकोट–धादिङ सीमानामा रहेको बन्चरेडाँडामा ल्यान्डफिल साइट बनाउँदै आए पनि ढिलासुस्तीका कारण अझै निर्माण सम्पन्न हुन सकेको छैन । सरकारले अहिले विकल्पका रूपमा बन्चरेडाँडामा फोहोर व्यवस्थापनको काम गर्दै आए पनि स्थानीयले विभिन्न माग राखेर संघर्ष गर्दा अवरोध हुने गरेको छ । -आजको राजधानी दैनिकबाट


विश्व खबर 



















