काठमाडौं– हरेकवर्ष नेपालको विकास खर्चको बजेट बढ्दो क्रममा छ । तर, विकास खर्चको कार्यान्वयन पक्ष भने निकै कमजोर रहेको छ । सन् २०२१ मा देशभरका निर्माण व्यवसायीमध्ये १३ वटा निर्माण व्यवसायी कम्पनीले एक वर्षमा १२ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । रेटिङ एजेन्सीमार्फत् आम्दानी गरेको विवरण सार्वजनिक गरेको १३ कम्पनीले गत वर्षमा १२ अर्ब २३ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।
देशभर साना, मध्यम र ठूला निर्माण व्यवसायी हजारौंको संख्यामा छन् । उक्त हजारौं संख्यामा रहेका व्यवसायीहरूले देशका ३५ सयभन्दा बढी आयोजनामा काम गर्दै आएका छन् । त्यस्तै, देशभर रहेकामध्ये रेटिङ एजेन्सीमार्फत् आफ्नो विवरण पेश गरी रेटिङ गराएको १३ कम्पनीले गत वर्ष ८ करोडदेखि ३ अर्ब रुपैयाँसम्म आम्दानी गरेका छन् ।
टुन्डी कन्स्ट्रक्सन प्रालिः
सन् २०२१ मा रेटिङ एजेन्सीमार्फत् आम्दानी गरेको विवरण पेश गरेको निर्माण व्यवसायी कम्पनीमध्ये सबैभन्दा बढी टुन्डी कन्स्ट्रकसन प्रालिले गरेको छ । नेपालको ठूलो र निर्माण क्षेत्रको खेलाडीको रुपमा स्थापित यस कम्पनीले सन् २०२१ मा एकलरुपमा काम गरेका आयोजनाबाट ३ अर्ब १३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । साथै, कम्पनीले संयुक्तरुपमा सञ्चालित आयोजनाबाट भने ६ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको सन् २०२१ मा ३१ प्रतिशतले आम्दानी बढेको जनाएको छ । सन् १९८४ बाट निर्माण क्षेत्रमा आबद्ध यस कम्पनीले खानेपानी आयोजना, भवन निर्माण, ढल व्यवस्थापन र अन्य विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । रिसिप्रसाद सुवेदीको २८ प्रतिशत, उनकी श्रीमती लक्ष्मीदेवी सुवेदीको १२ प्रतिशत, छोरा सुशिल सुवेदीको १८ प्रतिशत, आनन्दप्रसाद सुवेदीको १८ प्रतिशत, सुमन सुवेदीको १८ प्रतितश र मन्जु सुवेदीको ६ प्रतिशत सेयर रहेको यो कम्पनी क वर्ग इजाजत प्राप्त कम्पनी हो ।
ठूला-ठूला आयोजनामा ठेक्का गर्न सक्ने क्षमता रहेको यस कम्पनीसँग सन् २०२१ को नोभेम्बरसम्ममा जोइन्ट भेन्चरसहित १८ अर्ब २० करोड रुपैयाँको ठेक्का कार्यान्वयन नभएको अवस्था रहेको जनाएको छ । कम्पनीले सन् २०२१ को नोभेम्बरसम्ममा अझै कम्पनीसँग २४ अर्ब बराबरको ठेक्का लिन गर्न सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ ।
बानियाँ निर्माण सेवा प्रालिः
सन् २०२१ मा टुन्डीपछि सबैभन्दा बढी बानियाँ निर्माण सेवाले बढी आम्दानी गरेको छ । क वर्गको इजाजत प्राप्त कम्पनीले सन् २०२१ मा २ अर्ब २६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा ९९ करोड २० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ३६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सडक निर्माण, सिभिल कन्स्ट्रक्सन, पुल निर्माण, सिंचाइको काम र नदीको ट्रेनिङ दिने काम गर्दै आएको कम्पनीको आम्दानी सन् २०२१ मा १२८ प्रतिशतले बढेको जनाएको छ । सन् २०२० मा कोरोना महामारीका कारण कम्पनीको आम्दानी २७ प्रतिशतले घटेको थियो । इन्द्रबहादुर बानियाँ अध्यक्ष रहेको यस कम्पनीले सन् २०२१ मा २१.३२ प्रतिशत नाफा कमाएको छ । त्यसैगरी कम्पनीसँग २०२२ को मार्चसम्ममा १ अर्ब ८८ करोड ८० लाख रुपैयाँको ठेक्का कार्यान्वयन हुन बाँकी रहेको जनाएको छ ।
हिमालय बिल्डर्स एण्ड इन्जिनियर प्रालिः
आवासीय र व्यवसायिक भवन बनाउने हिमाल बिउल्डर्स एण्ड इन्जिनियर प्रालिले सन् २०२१ मा १ अर्ब ५३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ४९ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । ‘क’ वर्ग इजाजत प्राप्त यस कम्पनीले व्यवसायिक भवन तथा अग्ला भवन, डिजाइन तथा निर्माणको ठेक्का, आकस्किम र्ममतसम्भार, नवीकरण, विशेषज्ञ नवीकरण र पुर्नस्थापना, परिवर्तन र नयाँ निर्माणको कार्य गर्दै आएका छन् ।
जनकदत्त खनाल प्रबन्ध निर्देशक रहेको कम्पनीले सन् १९८५ देखि निरन्तर यस क्षेत्रमा आबद्ध भई आम्दानी गर्दै आएको जनाएको छ । कम्पनीले विशेषगरी निजी क्षेत्रलाई जोड दिँदै काम गर्दै आएका छन् । त्यसैले, निजी क्षेत्रको आधारमा कम्पनीको आम्दानी हुने उल्लेख छ । साथै, कम्पनीसँग २०२२ को जनवरीमा २ अर्ब ४० करोड रुपैयाँको आयोजना कार्यान्वयन हुन बाँकी रहेको जनाएको छ ।
राजेन्द्र निर्माण सेवा प्रालिः
सन् २०२१ मा राजेन्द्र निर्माण सेवा प्रालिले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब २६ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब २१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् १९९९ मा स्थापना भएका सो कम्पनी क वर्गको निर्माण कम्पनी हो । डडेल्धुरामा दर्ता भएको यस कम्पनीको आम्दानी सन् २०२१ मा १।७३ प्रतिशतले बढेको जनाएको छ ।
बजारमा निर्माण व्यवसायीको बढ्दो प्रतिस्पर्धा छ । कुनै पनि आयोजनाको टेन्डरमा बढ्दो प्रतिस्पर्धा हुने भएकाले जुन कम्पनीले कम मूल्यमा टेन्डर दिन सक्छ । सोही कम्पनीले आयोजना हात पार्ने प्रचलन छ । साथै, कम्पनीको आम्दानी सरकारको नीति नियम तथा विकास खर्चमा पनि भर पर्ने भएकाले सोहीअनुसार आम्दानी हुने कम्पनीको भनाइ छ । भिम बहादुर साउद र उनको छोरा सुरेन्द्र साउदद्वारा सञ्चालित यस कम्पनीले विगत १३ वर्षदेखि सडक, पुर्वाधार, पुल, सिंचाइ र खानेपानीजस्ता आयोजनामा काम गर्दै आएका छन् ।
रमन कन्स्ट्रक्सन प्रालिः
निर्माण व्यवसायी कम्पनीमध्ये सबैभन्दा ठूलो व्यवसायी कम्पनीको रुपमा परिचित रमन कन्स्ट्रक्सनले सन् २०२१ मा १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । ‘क’ वर्गको निर्माण कम्पनी रहेको कम्पनीले सन् २०२० मा १ अर्ब ८० करोड २८ लाख रुपैयाँ आम्दानी गरेको थियो । सडक, पुल, खानेपानी तथा सरकारको अन्य विभिन्न आयोजना क्षेत्रमा निर्माण क्षेत्रमा काम गर्दै आएको कम्पनीमा बलराम महतो, रमन महतो र पवन महतोको क्रमशः २०, ४० र ४० प्रतिशत सेयर रहेको छ ।
सन् १९९० देखि निर्मण क्षेत्रमा काम गरी आम्दानी गर्दै आएको कम्पनीसँग लामो समयको अनुभव छ । सन् २०२१ को अक्टोबरसम्ममा ३९ अर्ब रुपैयाँ बराबरको ७३ वटा ठूला आयोजनाको ठेक्का कम्पनीसँग रहेको जनाएको छ । उक्त ठेक्कामध्ये ११ वटा कम्पनी एक्लैको आयोजना रहेको छ भने २२ अर्ब ७० करोड रुपैयाँको आयोजना अन्य ठेकेदारसँगको जोइन्ट भेन्चरको रुपमा रहेको उल्लेख छ । साथै, कम्पनीको एकलरुपमा रहेको ९ अर्ब ३० करोड रुपैयाँको आयोजना कार्यान्वयन हुन बाँकी रहेको जनाएको छ । साथै, अझै १३ अर्ब ८० करोड रुपैयाँको आयोजनाको ठेक्का लिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ ।
कम्पनीले ४ वर्षको अवधिमा १९ अर्ब २० करोड रुपैयाँको ६३ वटा आयोजना सम्पन्न गरेको जनाएको छ । सन् २०२१ मा कम्पनीले आम्दानी गरेकोमध्ये ५० प्रतिशत अर्थात् २७ वटा आयोजनाबाट र २३ प्रतिशत अर्थात् १० वटा खानेपानी आयोजनाबाट आम्दानी भएको जनाएको छ ।सन् २०२१ को अक्टोबरसम्ममा कार्यान्वयनमा रहेको ३० प्रतिशत आयोजना सडकको, ३० प्रतिशत खानेपानी, १६ प्रतिशत हाइड्रोपावर र अन्य आयोजना रहेको जनाएको छ ।
एमए कन्स्ट्रक्सन प्रालिः
एमए कन्स्ट्रक्सन प्रालिले सन् २०२१ मा ५३ करोड १० लाख रुपैयाँमात्रै आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ८ करोड ६० लाख र सन् २०१९ मा ३५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।सन् १९८३ मा धरानमा दर्ता भएको यस कम्पनी क वर्गको निर्माण कम्पनी हो । विभिन्न निर्माण आयोजनामा संलग्न कम्पनीको आम्दानी सन् २०२१ मा ५१ प्रतिशतले घटेको जनाएको छ । कम्पनीअनुसार सन् २०२० मा पोखरा फुटबल स्टेडियम आयोजनाबाट मात्रै ८० प्रतिशत आम्दानी गरेको थियो ।
तर, सन् २०२१ मा कम्पनीको आम्दानी कम भए पनि नाफामा भने सुधार भएको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२१ मा १५.९९ प्रतिशतले नाफा कमाएको छ । सन् २०२० मा १३.८३ प्रतिशतले नाफा कमाएको थियो ।अनुप आचार्य प्रबन्ध निर्देशक र दिपक बराल निर्देशक रहेको एमए कम्पनीसँग सन् २०२२ को मार्च १९ सम्ममा ३ अर्ब ६१ करोड ८५ लाख रुपैयाँको कार्यान्वयन नगरिएको आयोजना बाँकी रहेको छ । जुन २०२१ मा आम्दानी गरेको ६.८१ गुणा ठूलो हो । कम्पनीअनुसार ८६/०६ प्रतिशत आयोजना हाइड्रोपावर र अन्य निर्माण आयोजनामा संलग्न छन् ।
रेनु कन्स्ट्रक्सन प्रालिः
रेनु कन्स्ट्रक्सन प्रालिले सन् २०२१ मा ३९ अर्ब १० करोड रुपैयाँको आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा २९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीअनुसार सन् २०२१ मा ३४ प्रतिशतले आम्दानी बढेको छ । दुई दशकदेखि विद्युत् क्षेत्रमा काम गर्दै आएको प्रमोद महाशेठ कम्पनीका अध्यक्ष हुन् । घ वर्गअन्तर्गत रहेको कम्पनीले सन् २०२१ मा १०.५० प्रतिशतले नाफा कमाएको छ । नेपाल विद्युत प्राधिकरण र पालिकाहरूको ग्रामिण विद्युतीकरणमा संलग्न भई काम गर्दै आएका कम्पनीसँग सन् २०२१ को डिसेम्बरसम्ममा ६३ करोड ४० लाख रुपैयाँको कार्यान्वयन नभएको आयोजनाको ठेक्का रहेको जनाएको छ ।
सारस बिल्डर्स प्रालिः
सन् २०१७ मा दर्ता भई काम शुरु गरेको सारस बिल्डर्स प्रालिले सन् २०२१ मा ८ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । ग वर्गको यस कम्पनीले निर्माण क्षेत्र, पुल, सडक र भवन निर्माण आयोजनामा काम गर्दै आएका छन् । कम्पनीले स्थानीय तह र अन्य कम्पनीसँग संयुक्त लगानीमा काम गर्दै आएको जनाएको छ । रमेशकुमार कुँवर विरेन्द्र कुमार कुँवरको ५०र५० प्रतिशत सेयर हिस्सा रहेको कम्पनीले विगत ३ वर्षदेखि लगातार १० प्रतिशतले बढी आम्दानी गर्दै आएको जनाएको छ ।
भुगोल इन्फ्रस्टक्चर कम्पनी प्रालिः
भुगोल इन्फ्रस्टक्चर कम्पनी प्रालिले सन् २०२१ मा ३३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा १३ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ । सन् २०२० मा कम्पनीले ५१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । ‘घ’ वर्गको यो निर्माण कम्पनीले पूर्वी क्षेत्रको हाइड्रोपावर आयोजनामा कायम गर्दै आएका छन् । भिमसेन भण्डारी निर्देशक तथा अध्यक्ष रहेको यस कम्पनीसँग सन् २०२२ को अप्रिलसम्ममा ३ अर्ब रुपैयाँको आयोजना ठेक्का पाएकोमा कार्यान्वयन गर्न बाँकी रहेको छ ।
ओसिस इन्जिनियर उण्ड बिल्डर्स प्रालिः
नेपाल सरकारबाट क वर्गको इजाजत प्राप्त ओयसिस इन्जिनियर एण्ड बिल्डर्स प्रालिले सन् २०२१ मा ५१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा ६८ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा ४५ करोड ७० लाख रुपैयाँको आम्दानी गरिसकेकेको छ । भवन निर्माण, सडक आयोजनामा काम गर्दै आएको कम्पनीमा ४ जनाको सेयर रहेको छ । कम्पनीमा अच्युतराज पाण्डेको ३५ प्रतिशत, राम चन्द्र तिमिस्सिनाको ३० प्रतिशत, भीमप्रसाद सुवेदीको ३० प्रतिशत र रुकमणी त्रीपाठी पाण्डेको ५ प्रतिशत सेयर रहेको छ । सन् १९८९ देखि निर्माण क्षेत्रमा काम गर्दै आएको कम्पनीसँग संयुक्त लगानीसहितको ८९ करोड २० लाख रुपैयाँको आयोजना कार्यान्वयन हुन बाँकी रहेको जनाएको छ ।
ओम बुद्ध इन्टरनेशनल कन्स्ट्रक्सन प्रालिः
ओम बुद्ध इन्टरनेशनल कन्स्ट्रक्सन प्रालिले सन् २०२१ मा १८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा ८ करोमड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । दिपेश लामाको ६४ प्रतिशत सेयर रहेको यस कम्पनी क वर्गको निर्माण कम्पनी हो । सडक, भवन र सार्वजनिक आयोजनामा काम गर्दै आएको कम्पनीले कोरोनाको समय अर्थात् सन् २०२१ मा १११ प्रतिशतले आम्दानी बढेको जनाएको छ । त्यसैगरी, सन् जनवरी २०२२ सम्ममा कम्पनीको एकल र जोइन्ट भेन्चरको रुपमा ८३ करोड ८० लाख रुपैयाँको आयोजना कार्यान्वयन हुन बाँकी रहेको जनाएको छ ।
रौतहट कन्स्ट्रक्सन प्रालिः
रौतहट कन्स्ट्रक्सन प्रालिले सन् २०२१ मा ४८ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा ३९ करोड ५८ लाख रुपैयाँको आम्दानी गरेको थियो । धर्मराज दाहालको २५ प्रतिशत सेयर रहेको यो कम्पनीमा ८ जनाको सेयरधनी छन् । सन् १९९७ देखि निर्माण क्षेत्रमा काम गर्दै आएको कम्पनी सार्वजनिक खरिद नियामवलीअनुसार क वर्ग इजाजतप्राप्त कम्पनी हो । कम्पनीअनुसार कम्पनीसँग अहिले ३ अर्ब ८४ करोड रुपैयाँको ठेक्का कार्यान्वयन हुन बाँकी रहेको छ ।
कम्पनीअनुसार सन् २०२० को मार्चसम्ममा रहेको आयोजनामध्ये सडकको हिस्सा ५६ प्रतिशत र १५ प्रतिशत भवन निर्माणको रहेको छ । त्यसैगरी, सन् २०२२ को जनवरीसम्ममा कम्पनीसँग ४ अर्ब ६० करोड रुपैयाँको आयोजना टेक्डर गर्न सक्ने क्षमता रहेको जनाएको छ ।
एसबीए निर्माण सेवा प्रालिः
एसबीए निर्माण सेवा प्रालिले सन् २०२१ मा ३७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा ५० करोड रुपैयाँ आम्दानी गरेको थियो । विशेषगरी पुल निर्माणका क्षेत्रमा बढी संलग्न रहेको यस कम्पनीले सडक र भवन निर्माण क्षेत्रमा काम गर्दै आएका छन् । कम्पनीको ४९ प्रतिशत आयोजना पुलको रहेको छ । अजय पौडेलको शतप्रतिशत सेयर रहेको यस कम्पनी क वर्गअन्तर्गको निर्माण कम्पनी हो । कम्पनीको आम्दानी सन् २०२१ मा २६ प्रतिशतले घटेको जनाएको छ । तर, कम्पनीसँग सन् २०२२ को अप्रिलसम्ममा ४६ करोड ८० लाख रुपैयाँको आयोजना कार्यान्वयन हुन बाँकी रहेको जनाएको छ । -क्लिकमाण्डौंबाट साभार


विश्व खबर 



















