बारा- बारा जिल्ला लगायत मधेश प्रदेशको ८ वटा जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएको छ । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो ३ वर्षको तथ्यांकले दुर्घटनाको डर लाग्दो अवस्था देखाएको हो ।
आर्थिक वर्ष ०७६र७७ मा मधेश प्रदेशका ८ जिल्लामा एक हजार ३४० सवारी दुर्घटनामा ४२० जनाको मृत्यु भएको छ भने ०७७र७८ मा तीन हजार ९८३ सवारी दुर्घटनामा परी ५२३ जनाले ज्यान गुमाएका छन् । यस्तै आर्थिक वर्ष ०७८र७९ मा भएका पाँच हजार ७११ सवारी दुर्घटनामा परी ५८५ जनाले ज्यान गुमाउन बाध्य भएका छन् ।
यो संख्या आर्थिक वर्ष ०७७र७८ को सवारी दुर्घटनामा भन्दा ४३.३८ प्रतिशतले बढी हो भने मानिसको मृत्युमा योपल्ट ११.८५ प्रतिशतले बढी आएको हो । मानिसमा जनचेतना भएको तर कानुन कार्यन्वयन फितलो भएका कारण सर्वसाधारणले मनपरि गर्ने प्रवृत्ति बढ्दै गएपछि दुर्घटनाको संख्यामा वृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए ।
मधेश प्रदेशमा प्रत्येक आर्थिक वर्षमा करिब ५०० जना सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन्, जसमध्ये धनुसा र सप्तरी जिल्लामा बढी दुर्घटना हुने गरेको छ भने धनुसा र सप्तरी जिल्लामा दुर्घटनाका कारण धैरैले ज्यान गुमाएको तथ्यांकले देखाएको छ ।
ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेश पथलैयाले सवारी दुर्घटना बढ्नुको मुख्य कारण चालकको लापरबाही र तीव्र गति रहेको जानकारी दिएको छ । ट्राफिक नियमको पालना नगरी असवधानीपूर्वक सवारी चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरी उपरिक्षक गुरुङले बताए ।
यसरी सवारी दुर्घटना न्यूनिकरण गर्न मातहतका आठवटै जिल्लामा चेकजाँचलाई निरन्तरता दिन निर्देशन दिएको उनले बताए ।


विश्व खबर 




















