images
images
  • सिंगापुरमा १९६ नेपालीबाट ४० लाख डलर ठगी गर्ने गोर्खा प्रहरीलाई १० वर्ष जेल

    सिंगापुर-सिंगापुर पुलिस फोर्समा कार्यरत एक नेपाली अधिकारीलाई ठगीको आरोपमा १० वर्ष जेल सजाय भएको छ। ३६ वर्षीय विकास गुरुङले सिंगापुरमा कार्यरत १९६ जनासँग पैसा नेपाल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा जेल सजाय तोकिएको हो। सिंगापुरको एक अदालतले बुधबार उनलाई जेल सजाय हुने फैसला सुनाएको हो।

    ५४ लाख सिंगापुर डलर ठगी गरेको आरोपमा उनी पुर्पक्षका लागि जेलमा छन्।अनलाइन सट्टेबाजीमा पैसा लगाउने लतमा फसेका उनले विभिन्न व्यक्तिसँग पैसा लिँदै बाजीमा लगाउने गरेको पाइएको छ। उनले झण्डै ४० लाख डलरसम्म बाजीमा लगाएको देखिएको सिंगापुरबाट प्रकाशित हुने ‘द स्ट्रेट टाइम्स’ले जनाएको छ।

    अनलाइन सट्टेबाजीमा लगाइएको यो हालसम्मकै उच्चतम रकम भएको समाचारमा उल्लेख छ। विकासले राम्रो दरभाउमा पैसा नेपाल पठाइदिन्छु भन्दै पैसा लिने गरेको पाइएको थियो। आफूले लिएमध्ये २ लाख डलरभन्दा बढी रकम मात्र नेपाल पठाएको र अरु पैसा उनले ठगी गरेको आरोप लागेको थियो। उनले प्रति व्यक्ति दुई हजार डलरदेसख दुई लाख ४० हजार डलरसम्म ठगी गरेको भेटिएको प्रहरीले जनाएको छ।

    सिंगापुरमा ठगीको यो मुद्दा पछिल्लो समयको सबैभन्दा ठूलो घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन्। विकासलाई सन् २०१८ देखि नै सेवाबाट वर्खास्त गरिसकिएको छ। उनी आफ्नो साथीहरू माझ भरपर्दो तरिकाले राम्रो डलरमा पैसा नेपाल पठाउने संयन्त्र मिलाउन सक्ने व्यक्तिका रुपमा चिनिन्थे। तर, उनी सन् २०१६ मा फूटबलमा लगाएको सट्टेबाजी रकममा नराम्रोसँग पैसा गुमाउन पुगेका थिए।

    उनले सिंगापुरबाट सामान किनेर नेपालमा महंगोमा बेच्दा नाफा हुने र सो नाफाका कारण सिंगापुर डलरको प्रचलित विनिमय दरभन्दा धेरै पैसा दिने लोभ देखाउँदै पैसा लिने गरेका थिए। एक जना अधिकृतले सन् २०१८ मा उजुरी गरेपछि उनको ठगी धन्धाबारे अनुसन्धान थालिएको थियो।

    प्रतिक्रिया दिनुहोस्