
काठमाडौं- नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुद दसानायकेले पदबाट राजीनामा दिएका छन्। स्कटल्यान्ड सिरिजबाट फर्किएलगत्तै दसानायकेले राजीनामा दिएका हुन्। आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले व्यत्तिगत कारण देखाउँदै राजीनामा दिएका छन्।
उनको राजीनामापत्र पनि आइसकेको नेपाल क्रिकेट संघ (क्यान) क्यानका क्रिकेट म्यानेजर विनोद दासले सम्मेलनमा जानकारी दिए।
श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुवुदुले राजीनामाको विषयलाई आफ्नो जीवनकै कठिन निर्णय भएको पनि बताए। ‘यो निर्णय गर्न मलाई साह्रै कठिन रह्यो। मैले व्यक्तिगत कारणले राजीनामा दिएको हो। बेलैमा निर्णय नगर्दा पछि पछुताउनुपर्छ भन्ने लाग्यो,’ पुवुदुले भने।
पुबुदु गत वर्षको मंसिरमामात्र दोस्रोपटक नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका थिए। यसअघि उनले सन् २०११देखि २०१५ सम्म नेपाली टिमको जिम्मेवारी सम्हालेका थिए। श्रीलंका पूर्वक्रिकेटर दसानायकेले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका रूपमा चार वर्ष काम गरेका थिए। उनले सन् २०११ अगस्टबाट नेपाली टोलीको नेतृत्त्व गरेका थिए।
उनको कार्यकालमा नेपाल डिभिजन ३ सम्मको यात्रा पूरा गर्न सफल भएको थियो। नेपाली क्रिकेट इतिहासमा सबैभन्दा सफल प्रशिक्षक मानिएका उनले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपसम्म पुर्याएका थिए।
पुबुदुकै प्रशिक्षणमा नेपालले एसोसियट टिमका रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेको थियो। सन् २०१५ अक्टोबरमा भने उनी व्यक्तिगत कारण देखाउँदै नेपाली कोचको भूमिकाबाट बाहिरिएका थिए।
चार वर्षमा नेपाली क्रिकेटको विकासमा अतुलनीय योगदान गरेका दसानायकेले सल्लाहकार प्रशिक्षकको रूपमा पनि नेपाली टोलीलाई सहयोग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्