images
images
  • पहिले आफ्नै मिर्गौला बेचे, अहिले पैसा नआएपछि मिर्गौला तस्करी थाले

    काठमाडौं- नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले नेपालबाट भारत लगेर मिर्गौला प्रत्यारोपण गर्न लगाउने एउटा गिरोहलाई पक्राउ गरेको छ।  मिर्गौला बेच्न २ जना युवालाई भारत लैजान खोजेको आरोपमा प्रहरीले काठमाडौंको कोटेश्वरबाट १७ असारमा २ जनालाई पक्राउ गरेको थियो।

    अनुसन्धानबाट मानव बेचबिखन अनुसन्धान ब्युरोले थप ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो। आरोपीहरूले काठमाडौंका सडक बालबालिका र मजदुरलाई फकाएर उनीहरूको मिर्गौला बेच्ने गरेको अनुसन्धानबाट खुलेको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए।

    आरोपीहरूले मजदुर र बालबालिकालाई फकाएर भारतमा लगेर उनीहरूको मिर्गौला उच्च घरानाका व्यक्तिहरूलाई बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी मल्लले बताए। मजदुर र बालबालिकालाई उनीहरूले भारतमा लगेर ‘मिर्गौला बेचेपछि ५ लाख नगद र ५० हजार पर्ने मोबाइल पाइन्छ’ भनेर डिल गर्ने गरेका थिए । पक्राउ परेका २ जना त्यसरी मिर्गौला बेचेका पीडित पनि हुन्।

    उनीहरूले आफ्नो शरीरबाट मिर्गौला झिकेको देखाएर ‘शरीरमा २ वटा मिर्गौला हुन्छन्, एउटा बेच्दा कुनै असर गर्दैन’ भनेर पीडितलाई फकाउने गरेको अनुसन्धानबाट खुलेको ब्युरोका प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए। आरोपीहरूले मिर्गौला बेच्न तयार भएका व्यक्तिहरूलाई कालोपुल नजिकैको होटलमा राखेर रगत परीक्षण र स्वास्थ्य परीक्षण गराउने गर्थे।

    प्रत्यारोपणका लागि उनीहरू ठिक भएपछि वीरगंज नाका हुँदै भारतका विभिन्न शहरमा पुर्‍याउने गर्थे। नेपालबाट भारत पुर्‍याएपछि सुविधा सम्पन्न होटलमा राखेर पौष्टिक आहारसमेत खुवाइने गरेको खुलेको छ । भारतमा समेत उनीहरूको रगत र स्वास्थ्य परीक्षण हुन्थ्यो।

    सबै कुराले प्रत्यारोपणका लागि ‘फिट’ भएपछि उच्च घरानाका व्यक्तिहरूलाई सम्पर्क गर्ने र बिक्री गर्ने गरेको आरोपीहरूले अनुसन्धानको क्रममा प्रहरी समक्ष बयान दिएका छन् । ‘तर, उच्च घरानाका ती व्यक्तिहरू आरोपीहरूले नचिनेको दाबी गर्दै आएका छन्’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘उनीहरूको भनाइअनुसार नेपाली व्यक्तिलाई मिर्गौला चाहिएको अवस्थामा पनि उनीहरूसँग भेट हुँदैन ।’

    त्यहाँ भारतीय मूलका व्यक्तिले नै ‘डिल’ गर्ने गरेको उनीहरूको दाबी छ। यसरी पैसाको आडमा नेपालका उच्च घरानाका व्यक्तिहरूले नेपालको सडकमा मजदुरी गर्ने र फुटपाथमा हिँड्ने व्यक्तिहरूको जीवनसँग खेलिरहेका प्रहरी बताउँछ।

    नेपालका व्यक्तिहरूले मात्र नभएर भारतीय व्यपारीहरूले समेत नेपालबाट लगेका व्यक्तिहरूको मिर्गौला प्रत्यारोपण गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी मल्लले बताए। ‘ती व्यक्तिहरू कोको हुन्, हामी थप अनुसन्धानमै छौँ,’ एसपी मल्ल थप्छन्, ‘यसका लागि यो गिरोहले काठमाडौंका सडकपेटीका बालबालिका र सोही क्षेत्रमा जीवन बिताउनेहरूलाई निशाना बनाएको देखिएको छ।’

    कसरी भए मिर्गौला बेच्न तयार
    मकवानपुरका २० वर्षीया दिनेश (नाम परिवर्तन) र सर्लाहीका हरि (नाम परिवर्तन) रोजगारीको खोजी गर्दै केही वर्षअघि काठमाडौं आएका थिए । आर्थिक स्थिति कमजोर भएका उनीहरुले सुरुमा सामान्य ज्याला मजदुरी गरेर गुजारा चलाए, तर लामो समयसम्म काम गर्न सकेनन् ।

    पछिल्लो समय सडकमा बोतल टिप्ने बिक्री गरेर आएको पैसाले चलिरहेका थिए । पशुपतिको भण्डारामा खाना खाने र सडक पेटीमा सुत्ने गर्थे । त्यही क्रममा उनीहरुको भेट दैलेखका धुपेन्द्र शाही र विमलबहादुर शाहीसँग भयो ।

    पशुपति क्षेत्रमै भेटिएका शाहीद्वयले ७ लाख रुपैयाँ र ५० हजार रुपैयाँ जति पर्ने ‘एन्ड्रोइड फोन’ को प्रलोभन देखाए । एकमुष्ठ रुपमा ७ हजार रुपैयाँ नभएको बेला ७ लाखको अफर आएपछि उनीहरुले सुखद दिनको कल्पना गर्न थाले ।

    सुरुवातमा शाहीद्वयले सामान्य चिनजान गरेर खाजा खाने साथी बनेका थिए । पटकपटक भेटेर खाजा खाएका शाहीले मन जित्दै गएपछि मिर्गौला बेच्ने प्रस्ताव राखे । पहिलो पटक सुन्दा उनीहरु पनि झस्किएका थिए ।

    तर जब शाहीमार्फत चिनिएका रामेछापका धनबहादुर रोका र गुल्मीका विजय कुँवरले शरीरको दाग देखाएर मिगौला बेचेर पैसा कमाएको बताए, उनीहरुले पनि मिर्गौला बेच्न तयार भए ।

    पीडित कति ?
    पक्राउ परेकामाथि प्रहरी अनुसन्धान जारी छ । केही पीडित प्रहरीको सम्पर्कमा भए पनि सबै कुरा अनुसन्धानका दृष्टिले भन्न नमिल्ने एसपी मल्लले बताए। नेपालमा मिर्गैला बेच्नु अपराध भएकाले पीडित आफैँ प्रहरीको सम्पर्कमा भने आउँदैनन्। तर, पक्राउ परेका ५ जनाको गिरोहले हालसम्म करिब २०० जनाको मिर्गौला बेचिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    एसपी मल्ल भन्छन्, ‘पुष्टि हुन बाँकी छ। पीडित सम्पर्कमा आउँदैनन्। तर, यही गिरोहले २०० जना बढीलाई भारत पु¥याएर मिर्गौला बेच्न लगाएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ।’

    पक्राउ पर्नेमा कोको ?
    पक्राउ पर्नेमा गुल्मीको तम्घास– २ घर भएका विजय कुँवर र दैलेख घर भएका विमल शाही, रामेछापको मन्थली नगरपालिका घर भएका धनबहादुर रोका उर्फ हिमाल, दैलेखका २८ वर्षीय धुपेन्द्र शाही र झापा घर भएका आशिष तामाङ छन् । आइतबार ब्युरोले पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो ।

    सर्लाही घर भएका २० वर्षीय र ३० वर्षीय युवकलाई उनीहरूले हेटौँडा–वीरगंजबाट रक्सौल हुँदै कोलकत्ता लैजाने तयारी गरेका थिए। ती युवकलाई भारत लिएर हिँडेको अवस्थामा प्रहरीले कोटेश्वरमा फेला पारेर उनीहरूलाई पक्राउ गरेको हो।

    आरोपीहरूले मिर्गौला बेच्न तयार २ जनालाई कालोपुल नजिकैको होटलमा राखेर रगत परीक्षणसमेत गराएका थिए। ती युवाहरूलाई कोलकत्तासम्म लैजाने जिम्मा विजय कुँवरले लिएका थिए।

    नेपालबाट कोलकत्तासम्म लगेबापत काठमाडौंमा सक्रिय यो गिरोहले ५ लाख रुपैयाँ लिने गरेको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो गिरोहका मुख्य नाइके धनबहादुर रोका उर्फ हिमाल हुन्। उनीहरूलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन, २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    पहिले आफ्नै मिर्गौला बेचे, पैसा नआएपछि आफैं तस्करी थाले
    प्रहरी अनुसन्धानमा खुलेअनुसार रोका र कुँवर आफैं पनि दुई वर्ष अघिका पीडित हुन् । उनीहरुले पनि ७ लाख रुपैयाँ पाउने प्रलोभनमा भारतमा गएर मिर्गौला प्रत्यारोपण गराएका थिए । तर त्यसवापतको पैसा नपाएर ठगिएका थिए ।

    ‘आफू ठगिए तर यसरी पैसा कमाउन सकिँदो रहेछ भन्ने भएपनि मिर्गौला विक्री गर्ने काम गर्न थालेको पाइएको छ’ मल्ल भन्छन्, ‘सडक मानवहरुलाई टार्गेट बनाउन सहज हुने भएकालेउनीहरुले पशुपतितिरका व्यक्तिलाई लक्षित गर्ने गरेको पाइएको छ ।’

    विपन्नलाई थोरै पैसाको लोभ देखाउँदा पनि जे गर्न पनि तयार हुने भएकाले त्यस्तै व्यक्तिहरुलाई लक्षित गरेर ‘ग्रुमिङ’ गरेको प्रहरी बताउँछ ।

    प्रहरीका अनुसार उनीहरुले प्रत्यारोपणको काम सकिन ६ महिना लाग्ने बताउने गरेका थिए । काठमाडौंमा समान्य स्वास्थ्य परीक्षण गरेपछि उनीहरुले भारत लैजाने गरेका थिए । यो समूहले विगतमा पनि थुप्रै व्यक्तिहरुलाई भारत पुर्‍याइसकेको हुनसक्ने प्रहरीको आशंका छ । त्यही आधारमा पुराना पीडितहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    यसअघि काठमाडौंमा प्रहरीकै सहयोगमा भारतमा मिर्गौला तस्करी गर्ने गिरोह १७ साउन २०७६ मा समातिएको थियो । यसमा मुछिएका प्रहरी पनि सुरुमा आफैं पीडित थिए, पछि सहजै लाभ लिन संलग्न भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images