images
images
  • सेनेगलमा आप्रवासीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

    एजेन्सी । सेनेगलको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । सोमबार थप शव फेला परेपछि मृतकको सङ्ख्या बढेको आपत्कालीन सेवा विभागले जनाएको छ ।

    उत्तरी सेनेगलको सेन्ट लुइसबाट स्पेनको तटतर्फ जाँदै गरेको उक्त डुङ्गा आइतबार राजधानी डाकारको उत्तरमा पर्ने केबेमेर सहरनजिक समुद्रमा पल्टिएको थियो ।

    गृह मन्त्रालयले आइतबार घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको जनाएको थियो । उद्धारकर्ताहरूले जीवित व्यक्तिहरूको खोजी गरिरहेको पनि मन्त्रालयले बताएको थियो । डुङ्गामा कति जना सवार थिए भन्नेबारे मन्त्रालयले खुलाएको छैन । अझै धेरै यात्रु बेपत्ता रहेको अनुमान गरिएको छ ।

    घटनामा एक जना यात्रुलाई मात्र जीवितै उद्धार गर्न सकिएको छ ।

    राम्रो आर्थिक अवसरको खोजीमा हजारौँ सेनेगाली युवा यही समुद्री मार्ग हुँदै युरोप पुग्ने प्रयास गर्छन् । उनीहरू एट्लान्टिक महासागरमा करिब ८०० माइल यात्रा गरेर स्पेन पुग्ने जोखिमपूर्ण बाटो रोज्छन् । यस क्रममा प्रायः खुला काठका डुङ्गा ९क्यानो० प्रयोग गरिन्छ । सेनेगलमा उच्च बेरोजगारी र गरिबीका कारण युवाहरू आर्थिक अवसरको खोजीमा विदेशिने गरेका छन् ।

    सेनेगलका राष्ट्रपति बासिरु डिओमाये फायेले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता जोखिमपूर्ण यात्रा गराउने मानव तस्करीका सञ्जालविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images