images
images
  • यी हुन् बाबुरामले उपेन्द्रमाथि लगाएका आरोपै आरोप !

    काठमाडौं- सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

    बाबुराम समूहको मंगलबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो आरोप लगाएका हुन् । बाबुराम र उपेन्द्र समूहबीच विवाद चर्किएको बेला बाबुराम समूहको बैठक मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । उता बुधबारदेखि वीरगन्जमा उपेन्द्र समूहको बैठक बस्दै छ ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि यादवले एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधि सञ्चालन गरेको दाबी गरेका छन् । संख्यात्मक रूपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबी उनले गरेका छन् ।

    जसपा विधानअनुसार पार्टीमा दुई अध्यक्षको व्यवस्था रहेकोमा ठाकुरले छुट्टै पार्टी गठन गरेपछि एक अध्यक्ष पद रिक्त रहेको थियो । ‘गत साल महन्थ ठाकुरजीले छोडेपछि एउटा कार्यकारिणी अध्यक्ष खाली थियो । मैले जनजाति एक जना जो भए पनि बनाउनुपर्छ भनेँ,’ भट्टराईले भने, ‘तर मेरा मित्र उपेन्द्र यादवजीलाई डर थियो वा के थियो मान्नुभएन । अहिलेसम्म पनि मान्नुभएको छैन ।’

    पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रूपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने दाबी उनको छ । अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनसायका साथ बोलाएको गुटको बैठकलाई मान्यता नदिने पनि उनले बताए ।

    यी हुन भट्टराईले उपेन्द्रमाथि दगाएका आरोप
    -पार्टीमा ठूलो बन्नका लागि यादवले एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधि सञ्चालन गरेको

    -संख्यात्मक रूपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको

    -पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भएको

    -तत्कालीन कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर अलग्गिएपछि खाली रहेको पदमा समेत जनजातिलाई राख्ने आफ्नो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको

    -पार्टी संगठन, व्यवस्थित र चुस्तदुरुस्त बन्न नसकेको जनाउँदै उनले पार्टी समायोजनकै बेलादेखि उपेन्द्रमा ‘पार्टी कब्जा गर्ने’ सोच हाबी भएको

    -समावेशीको वकालत गर्ने यादवले पार्टीलाई समावेशी बनाउन कहिल्यै नचाहेको

    -समानुपातिक प्रतिनिधित्व गर्न सीमित संख्यालाई केही बढाएर भए पनि त्यो कमी र मागलाई हल गरौं भन्ने बारम्बार प्रस्ताव र प्रयत्न गरियो तर हल नभएको

    भट्टराईले भने-‘म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिले पनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न वैधानिक ढंगले बैठक राख्न चुनौती दिन्छु । तपाईंले अवैध ढंगले, जुन गलत मनसायका साथ गुटको मात्रै बैठक अपायकमा राख्नुभएको छ, त्यो बैठक तत्काल स्थगित गर्नुहोस् । यहाँ आउनुस्,’  । अध्यक्ष भट्टराईले नेपालका दल र सरकार नसच्चिए श्रीलंकाकै बाटोमा देश पुग्ने दाबी पनि गरे ।

    ‘समावेशी नेतृत्व स्थापित गर्न सबै तहमा न्यूनतम समानुपातिक प्रतिनिधित्व हुन आवश्यक थियो, केन्द्रीय कार्यकारिणीमा केही महत्वपूर्ण राष्ट्रिय समुदायको नै प्रतिनिधित्व थिएन । सीमित संख्यालाई केही बढाएर भए पनि त्यो कमी र मागलाई हल गरौं भन्ने बारम्बार प्रस्ताव र प्रयत्न गरियो तर हल भएन । केन्द्रीय समितिमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वको कुनै ठोस र मूर्त अवधारणा वा मापदण्ड बन्न सकेन,’ भट्टराईले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

    २२ वैशाख २०७६ मा बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र नेतृत्वको संघीय समाजवादीबीच एकता भएर समाजवादी पार्टी बनेको थियो । सो समाजवादी विभाजन हुनै लाग्दा रातारात १० वैशाख २०७७ मा अर्को मधेसवादी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सँग एकता भएर जसपा घोषणा भएको थियो । तर, एकताको तीन वर्ष नपुग्दै महन्थ, राजेन्द्रसहितका नेताले जसपा विभाजन गरेर लोसपा गठन बगरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images