धनगढी- अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाही मुत्यु प्रकरणमा पक्राउ परेकी मेयर अम्बिका चलाउनेसहित तीन जनामाथि मुद्दा नचल्ने भएको छ। पञ्चदेवल विनायककी मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीमाथि पनि किटानी जाहेरी परेको थियो। तर उनीहरूलाई मुद्दा चलाउन कुनै पनि प्रमाण नभएको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने भएको छ।
विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण बताए ।
श्रेस्तदार पौडेलले तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको बताउँदै अन्य फरार रहेकाहरुको खोजी गरेर पेश गर्न प्रहरीलाई आदेश गरिएको जनाए ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको थिए । २१ जेठमा घर नजिकैको जंगलमा मृत भेटिएका शाहीको हत्या गरेको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।
पीडितका परिवारले किटानी जाहेरी दिएका मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको मुद्दा नचलाउने निर्णय गरेको हो ।
सरकारी वकिल कौशल ढुंगानाले अन्य १० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । हत्या आरोपी जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाहीसहितका अन्य ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।






















