images
images
  • भाषा संस्कृतिको साइनो अमर : चाम्लिङ

    काठमाडौं- भारतको सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङले भौगोलिक दृष्टिकोणले फरक मुलुक भए पनि नेपाली जातिको भाषा र संस्कृति एउटै रहेको बताएका छन् । उनले भने, “आज हामी जहाँ बसे पनि राष्ट्रियता फरक पर्न सक्छ तर भाषा र संस्कृति हाम्रो सधैँ एउटै रहने छ । भाषा र संस्कृतिले नै नेपाली जातिको पहिचानलाई विश्वमा स्थापित गर्नेछ ।”

    सोमबार आयोजित डा. डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार, २०७८ अर्पण समारोहमा उनले भाषा र संस्कृतिको साइनोमात्रै हाम्रो अमर साइनो हो भनेका छन् ।देशभित्र र बाहिर मानिसले आफ्नो भाषा छोड्दै जानु हाम्रो समाजका लागि दुःखान्तको विषय रहेको बताउँदै सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङले नेपाली भाषा र संस्कृतिलाई अमर बनाउन सबैले योगदान दिनु आवश्यक रहेको धारणा व्यक्त गरे । उनले आधुनिकताका नाममा आफ्नो भाषा संस्कृतिलाई महत्व दिन छाडेका छौँ भन्दै यसप्रति सचेत र चिन्तित हुनुपर्ने स्थिति आएको बताए।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समाजलाई चेतनशील र समृद्ध बनाउन पुस्तकको अध्ययन नै प्रमुख आधार रहेको बताए । पुस्तक पढेर मानिस ज्ञानशील नभएसम्म औपचारिक शिक्षाले मात्र समाजलाई रूपान्तरण गर्न नसक्ने बताएका छन् । उनले पुस्तकलाई माया गर्नु, सम्मान गर्नु र पुस्तकालयप्रति उत्तरदायी हुनु आजको आवश्यकता हो पनि भनेका छन् ।

    उनले पछिल्लो पुस्तालाई लेखन, साहित्य सिर्जना र पुस्तक अध्ययनमा केन्द्रित हुन आग्रह गर्दै सामाजिक सञ्जाल र समाचारको शीर्षक हेरेर धारणा बनाउने अहिलेको समाज सत्यको गहिराइमा पुग्न नसक्नु दुःखद पक्ष रहेको उल्लेख गरेका छन् । यो समाचार आजको गोरखपत्र अनलाइनमा छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images